काठमाडौं - नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य एकीकृत कारोबार सुरु गरेको छ ।
नबिल बैंकको ३८औं वार्षिकोत्सवको पुर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथी मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरि एकिकृत कारोबार थालनी भएको घोषणा गरिएको हो ।
दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो । कार्यक्रममा बोल्दै मुख्य सचिव बैरागीले पुरानो मध्यको एक नेपाल बंगलादेश बैंकको प्राप्ति पछि नबिल बैंक अझ ठुलो भएको र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास जनाए ।
अझ बलियो, सँगै अघि भन्ने नारासहित गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्राप्ति पछि नबिलले बैंकिङ प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने बताए । “बैंक ठूलो भए सँगै बैंकिङ प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौ,” उनले थपे ।
देश विकासमा बैंकिंग संस्थाहरुको अग्रणी भूमिका हुने बताउँदै उनले भने, “यस बैंकले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याउने लक्ष्य सहित नबिल दिगो बैंकींगको सुरुवात गरेको छ र अझ सशक्त रुपमा अघि बढ्नेछ ।” पर्यावरण र दिगो विकासको मापदण्डलाइ पछ्याउदै बैंकले त्यहि अनुसार नीति तथा रणनीति लिने उनले जानकारी दिए ।
“क” वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको छ ।
“नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दै बैंक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिबृद्धि गर्न कदम चालेका हौं,” बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए ।
उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै बिस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ ०८:४६