काठमाडौं- तराईमा यतिबेला अत्याधिक गर्मी बढेको छ। गर्मी बढेसँगै बिरामीहरू पनि बढ्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखी बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।
जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा पछिल्लो ७ दिनयता ३० प्रतिशत बिरामी बढेको अस्पतालका डा।प्रदिपकुमार साहले जानकारी दिए । उनका अनुसार भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा।साहको भनाइ छ ।
सरकारी अस्पताल मात्र हैन निजी अस्पतालसमेत भरिभराउ देखिएका छन् । अत्यधिक गर्मी कै कारण सर्पको डसाइमा समेत वृद्धि भएको छ ।
जिल्लाको बर्दिबास सर्पदंश उपचार केन्द्र गौरिडाडामा मात्र दुईजनाको मृत्यु भइसकेको छ भने जिल्लाका अन्य उपचार केन्द्रमा पनि सर्पले डसेका बिरामीको संख्या अधिक बन्दै गएको छ ।
गर्मीकै कारण लामखुट्टेको संख्यामा समेत वृद्धि भएको छ । जसको कारणले भाइरल ज्वरो, टाइफाइडका बिरामीहरू बढेको चिकित्सकहरूको बताए । अत्यधिक गर्मीले बच्चाहरूमा समेत समस्या बनेको छ । घमाउरा उने र घाउसमेत हुनाले घरमै प्राथमिक उपचार गर्ने गरेको रामगोपालपुरका रामरन्जन बताउछन् ।
महोत्तरीमा अहिले अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस छ । अत्यधिक बढेको गर्मीले जनजीवनसमेत अस्तव्यस्त बन्न थालेको छ । बिहानैदेखि बहने तातो हावा र चर्को घामले मजदुरहरू काममा जानसमेत छाडेका छ्न् ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १३:२२