काठमाडौं– नृत्य निर्देशक संघ काठमाडौ क्षेत्र नम्बर–३ कार्यसमितिले शनिबार चाबहिलस्थित कामना कलाकेन्द्रमा एक प्रशिक्षण कार्यक्रम गरेको छ ।
नृत्यको सरल सैद्धान्तिक ज्ञान र संगीतको तालसम्बन्धी उक्त प्रशिक्षण भएको हो । संघका केन्द्रीय कोषाध्यक्ष केशव कोइरालाले गुरुहरूले सिकाएको बाटोमा प्रशिक्षार्थीले अब्बल नृत्यको यात्रा गर्न सक्नुपर्ने बताए । यस्तै, कार्यक्रममा बरिष्ठ गायक प्रेम लोप्चनले नृत्य र संगीत दुवैको ज्ञान भएमा आफ्नो प्रस्तुति दिनलाई सजिलो हुने बताए ।
प्रमुख अतिथि प्राज्ञ एवं पद्मकन्या क्याम्पस बागबजारका नृत्य प्राध्यापक बेटी बज्राचार्यले यसखाले प्रशिक्षणले नृत्यलाई चाहिने बिशेष तत्वबारे सबैले बुझ्न सकिने बताइन् । प्राज्ञ बज्राचार्यले थपिन्, ‘प्रत्येक विद्यालयमा नृत्य प्रशिक्षक राख्नका लागि सरकारलाई यो संस्थाले दबाब दिन जरुरी छ ।’ प्रशिक्षणमा संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नृत्यको सरल सैद्धान्तिक ज्ञान र संगीतकार निरोज लामाले तालसम्बन्धी प्रशिक्षण दिएका थिए । क्षेत्रीय अध्यक्ष बुद्ध लामाले समापनको क्रममा यसरी नृत्य सम्बन्धित अत्यन्तै जरुरी बिबिध पक्षबारे बेलाबेलामा प्रशिक्षण एवं अन्तरक्रिया गर्दै लैजाने योजना रहेको बताए । संघका सचिव देवराज गुरुङद्वारा सञ्चालित कार्यक्रममा ८० जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।