काठमाडौं– होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबारदेखि शुरु हुने प्रतियेगितामा भाग लिने टोलीबारे आयोजक न्यू डायमण्ड स्पोर्टस् क्लबले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
आगामी पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको तेस्रो संस्करणमा आयोजक न्यू डाइमण्ड, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल प्रहरीको पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, ढोरपाटन स्पोर्टस् क्लब, टप्स मावि पोखरा र पारामाउन्ट इङ्गलिश स्कुलले प्रतिस्पर्धा गर्ने क्लबका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कुमार राईले बताए । प्रतियोगिताका खेल नया“ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुनेछ ।
विजेताले रु चार लाख १ सय १, उपविजेताले रु तीन लाख १ सय १, तेस्रो हुनेले रु एक लाख ५१ हजार १ सय १ तथा चौथोले रु ५१ हजार १ सय १ पुरस्कार प्राप्त गर्नेछन् । गत वर्ष विजेताले रु तीन लाख एक हजार पुरस्कार प्राप्त गरेको थियो । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २१ हजार १००, साथै उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई रु सात हजार १०१ प्रदान गरिने राईले बताए । उक्त प्रतियोगिता सञ्चालन गर्न होङ्गवान्जी बौद्ध समाजले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । आयोजक न्यू डाइमण्ड क्लब र समाजबीच सम्झौतापत्रका हस्ताक्षर भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६ ०५:४९