काठमाडौं – महानगर कप भलिबलको दोस्रो दिनको खेलमा जित हात पार्दै पुरुषतर्फ बनेपा नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यस्तै महिलातर्फ भने ललितपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिका विजयी भएका छन् ।
जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा कीर्तिपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै बनेपा क्वाटरफाइनलमा पुगेको हो । बनेपाले कीर्तिपुरलाई २५–१०, २५–१३ र २५–२१ को सेटमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । जितसँगै समूह बी को बनेपाले ३ अंक जोड्यो । कीर्तिपुर भने दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो खेलमा किर्तिपुर कागेश्वरी मनोहरासँग पराजित भएको थियो । किर्तिपुरले लगातार दुई खेलमा पराजित भएसँगै कागेश्वरी पनि क्वाटरफाइनलमा पुगेको हो । अब यस समूहबाट बनेपा र कागेश्वरीबीचको खेलले समूह विजेता र उपविजेताको तय हुनेछ । पुरुषतर्फको अर्को खेलमा चौतारा नगरपालिकाले ललितपुर महानगरपालिकालाई २५–२१, १९–२५,२५–१९ र २५–२१ को सेटमा हराएको छ । जितसँगै समूह ए को चौताराले ३ अंक जोडेको छ । ललितपुरको पनि ३ अंक रहेको छ ।
पुरुषतर्फ आइतबार भएको खेलमा महालक्ष्मी नगरपालिकाले पनौती नगरपालिकालाई २५–१४,२५–२३ र २५–२१ को सेटमा पराजित गरेको छ । त्यस्तै कमलामाई नगरपालिकाले गोकर्णेश्वर नगरपालिकामाथि २५–२१,२५–१८ र २५–१९ को सेटमा जित निकालेको छ ।
महिलातर्फ ललितपुर महानगरपालिकाले बनेपालाई ३–० को सेटमा हराएको छ । ललितपुरले बनेपामाथि २५–५,२५–११ र २५–१८ ले पराजित गरेको हो । जितसँगै समूह ए को ललितपुरले ३ अंक जोडेको छ । बनेपाले अंक जोड्न सकेको छैन । महिलातर्फ नै हेटौडाले टोखालाई २५–१७, २५–२१ र २५–१७ को सेटमा हराएको छ । त्यस्तै अर्को खेलमा गोकर्णेश्वरले विदुर नगरपालिकालाई २५–१७,२५–११ र २५–५ ले हराएको छ ।
समूह बी को हेटौँडा र गोकर्णेश्वरले ३÷३ अंक जोडेको छ । ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५÷१५ हजार पाउने छन् ।
यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५÷५ हजार पाउने छन् ।