शुक्रबार भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार बेलुका स्वेदश फर्किए । दाहालको उच्चस्तरीय भेटघाटको सम्भावित कार्यसूचीमा समावेश थियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट ।
जसलाई दाहालको सचिवालयले पुष्टिसमेत गरिसकेको थियो । दाहाल स्वयंले पनि दिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दा मोदीसँग पनि आफ्नो भेट हुने बताएका थिए ।
तर, भारतको सत्तारूढ पार्टी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा नयाँ दिल्ली पुगेका दाहालले मोदीलाई भेट्न पाएनन् । मोदीले भेटको समय नदिएपछि उनी ‘निरास हुँदै’ आइतबार स्वदेश फर्किए ।
मोदीसँग हुने भनिएको भेट अन्तिम समयमा रोकियो । भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष नड्डासँग भेटवार्ता सकेर होटलमा फर्कने क्रममा मोदीसँग हुने भनिएको भेट स्थगित भएको सँचना आएको दाहालको दाबी छ । त्यसपछि उनी स्वदेशका लागि प्रस्थान गरे ।
नेपाल फर्किएपछि दाहालले मोदीसँगको भेट स्थगित हुनुको चित्तबुझ्दो जवाफ पनि दिन सकेनन् । मोदीको अनिच्छारबारे अनभिज्ञता प्रकट गरे । मोदीसँगको भेट अचानक रोकिएको भन्दै टालटुले जवाफ दिए । उनीहरूबीच आइतबार दिउँसो १ बजे भेट हुने भनिएको थियो ।
नेपालमा आमनिर्वाचनको तयारी हुँदै छ । दाहालले नेपाली कांग्रेससँग सत्ता गठबन्धन गरेका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेससहितका दलहरूसँग गबठन्धन गरेका उनी आउँदो निर्वाचनसम्म यसलाई निरन्तरता दिन चाहन्छन् । यसको कारण मुर्झाउँदै गएको आफ्नो पार्टीलाई ब्युँझाउनु हो । र, महत्वपूर्ण कुरा उनी आउँदो निर्वाचनपछि प्रधानमन्त्री बन्न चाहन्छन् ।
तर, उनको यो चाहना पूरा हुने सम्भावनाको जग कमजोर छ । कथं कांग्रेस पहिलो पार्टी बन्यो भने तेस्रो पार्टी बन्ने माओवादीलाई प्रधानमन्त्री दिन कुनै हालतमा तयार हुने छैन । देउवा स्वयंले चाहेर मात्र पनि यो सम्भव नहुने देखिन्छ । उसो त देउवा आफैं पनि सातपटक प्रधानमन्त्री हुने ज्योतिषीय विश्वासको लिगलिगे दौडमा छन् । यस्तो बेला दाहालको प्रधानमन्त्री सपनामा चिसो पानी खनिने सम्भावना ज्यादा छ ।
आफै प्रधानमन्त्री बन्नका लागि उनी भारतको साथ चाहन्छन् । यो भ्रमणभित्रको एउटा कारण यो पनि हो । दिल्लीमा देउवापत्नी आरजु राणा देउवासँगको भेट पनि यसैको अर्को पाटो भएको चर्चा भइरहेको छ । दाहाल अबको निर्वाचनपछि देउवालाई राष्ट्रपति बनाएर आफँ प्रधानमन्त्री हुने दाउमा छन् । यद्यपि, अहिलेकै अवस्थामा त्यो सम्भव देखिँदैन ।
मोदीले बेवास्ता गरेपछि उनी ‘निरास’ भएर स्वदेश फर्किएका दाहालले कस्तो कदम चाल्छन्, त्यसको रोचक पर्खाइको विषय बनेको छ । कांग्रेसमासमेत माओवादीसँगको गठबन्धन जोगाइराख्नुपर्ने मत बलियो रहेको बुझेका उनले थप ‘बार्गेनिङ’का लागि एमाले कार्ड प्रयोग गर्न सक्ने छन् ।
शनिबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले वाम गठबन्धनका लागि ‘ग्रिन सिग्नल’ दिइसकेका छन् । उनले त्यसका लागि पहिलो सर्तका रूपमा कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने राखेका छन् । सोही कार्यक्रममा माओवादी नेता नारायणकाजी श्रेष्ठले वाम तालमेलका लागि अघि बढ्नुपर्ने धारणा राखेका थिए । जसबाट कांग्रेसको एउटा समुहभित्र ‘चिसो पसिसकेको’ छ ।
यता एमालेसमेत कुनै पनि हालतमा चुनावअघि नै वर्तमान गठबन्धन भत्काउने दाउमा छ । यस्तो बेला मोदीकोसमेत ‘दर्शन’ नपाएका दाहालले कांग्रेससँग ‘घुर्की’ देखाउनसक्ने सम्भावना छ । एमाले कार्ड फालेर उनी गठबन्धनमा बढी सिट हत्याउन लाग्न सक्ने देखिन्छ ।
तर, उनी आफ्नो बोलीमा इमान्दार भए भने गठबन्धन तलमाथि हुने छैन । आउँदो निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहनेछ । एमाले गठबन्धनको सामना गर्दै चुनावी मैदानमा उत्रिनेछ । एउटा कुराचाहिँ के हो भने सत्ता गठबन्धनकै बहुमत आए पनि नेपालको राजनीतिमा ‘सूक्ष्म व्यवस्थापन’ गर्दै आएको भारतको ‘ग्रिन सिग्नलविना’ दाहाल आउने निर्वाचनपछि प्रधानमन्त्री हुने सम्भावना कमै छ । यसपालिको भारत भ्रमणमा मोदीले देखाएको ‘अनिच्छा’बाट दाहालले यो कुरा पक्कै बुझेका होलान् ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ ०९:११