एजेन्सी- चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) लाई अफगानिस्तानसम्म विस्तार गर्ने बारेमा पाकिस्तान र चीनले विचारविमर्श थालेका छन् ।
पाकिस्तानका विदेश सचिव सोहेल महमूद र अफगानिस्तानका लागि चीनका विशेष दूत यु सियाओयोङबीचको भेटवार्तामा क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका साथै आर्थिक विकासका निम्ति सिपिइसीलाई अफगानिस्तानसम्म विस्तार गर्नेबारेमा विचार आदानप्रदान गरेका थिए ।
सिपिइसी चीनको विशाल परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को एउटा भाग हो । यो परियोजनाको मुख्य उद्देश्य दक्षिण–पूर्वी एशियाका तटीय देशमा ऐतिहासिक व्यापार मार्गलाई पुनःसञ्चालन गर्ने हो । विश्लेषकहरू चीन र पाकिस्तानको यो योजना भारतको लागि सुरक्षा चिन्ताको विषय हुनसक्ने टिप्पणी गरेका छन् ।
दुवै पक्षले अफगानिस्तानको राजनीतिक एवम् सुरक्षा अवस्था, अफगानिस्तानलाई पाकिस्तान र चीनले गरेको मानवीय सहायता र आपसी हितका अन्य विषयमा विचारविमर्श भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।
सन् २०१५ मा चीनले ४६ अर्ब अमेरिकी डलरको उक्त परियोजना घोषणा गरेको हो । परियोजनाले अरब सागरमा रहेको बलुचिस्तानको पाकिस्तानको दक्षिणी ग्वादर बन्दरगाहलाई चीनको पश्चिमी सिनजियाङ क्षेत्रसँग जोड्ने छ । परियोजनामा चीन र मध्यपूर्वका मुलुकमा सम्पर्क विस्तारका साथै सडक, रेल र तेलका पाइपलाइन सञ्जाललाई समावेश गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ १४:५३