काठमाडौं - शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । मंगलबार नेप्से १६.२० अंकले बढेर बजार २०४५.६३ बिन्दुमा पुगेको छ । २ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ ।
यो साता पहिलो कारोबारमा आइतबार १.९३ अंकले बढेको शेयर बजारमा सोमबार १८.०३ अंकको वृद्धि देखिएको थियो । त्यसअघि गएको साताको अन्तिम चार दिनको कारोबारमा ९३.८६ अंकको वृद्धि देखिएको थियो ।
यसरी पछिल्लो सात दिनको कारोबारमा बजारमा १३०.०२ अंकको वृद्धि देखिएको छ । गएको साताको पहिलो कारोबारमा सोमबार ७७.०१ अंकको गिरावट आएको बजारमा त्यसपछिका चार कारोबारमा हरियाली देखिएको थियो ।
मंगलबार उतारचढावका बीच ११.६८ अंकले बढेको बजार बुधबार ५९.५४ अंकले, बिहीबार १४.७१ अंकले र शुक्रबार ७.९३ अंकले बढेको थियो । बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार हरियाली देखिएको छ ।
अहिले संगठित लगानीकर्ताहरूले सामाजिक सञ्जालदेखि अन्यत्र पनि आउने मौद्रिक नीतिमार्फत ४-१२ को सीमा हट्ने हल्ला गरिरहेका छन् । जसको प्रभाव बजारमा देखिएको छ। राष्ट्र बैंकले शेयर कर्जाको विषयमा परिवर्तनको संकेत भने गरेको छैन ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ १६:१८