काठमाडाैं- नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)लाई १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको छ ।सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरिएको निगमले जनाएको हाे ।
निगमका अनुसार तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो । गएको आइतबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । तर निगमले पुरानै मूल्यमा बेच्दै आएको छ । भारतबाट भाउ घटेर आए पनि निगम घाटामा रहेकाले भाउ नघटाएको निगमले जनाएको छ ।
सरकारले ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको हो भने राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको हो ।
ऋण तिरेपछि निगमले आईओसीसँगको बक्यौता रकम घटाएको छ । दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको निगमले जनाएको छ ।
निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम ३१ अर्ब २० करोड थियो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार अब भुक्तानी हुन बाँकी रकम १४ अर्ब ४० करोडमा झरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ ०८:१३