काठमाडौं - गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका भव्य आयोजनाका लागि १४ मुख्य उपसमितिमध्ये १२ उपसमिति तय भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेपं) परिसरमा बसेको मूल आयोजक समितिको दोस्रो बैठकबाट १२ समिति तय भएको कार्यकारी समितिका संयोजकसमेत रहेका राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी गराए ।
विभिन्न उपसमितिको संयोजकसमेत राखेपले घोषणा गर्दै सबै समितिलाई आ(आफ्नो जिम्मेवारी सुम्पिएको छ । उनले भने, ‘उपसमितिको निर्णय गरेका छौँ । निर्देशिकाले १४ उपसमिति बनाउन दिएको छ । जसमध्ये हामीले १२ उपसमिति बनाएका छौं ।’
अनुशासन समिति र सुरक्षा समिति भने राखेपले केही समयपछि मात्रै घोषणा गर्ने सदस्यसचिव घिसिङले बताए । गठन भएका समितिको सचिव प्रशासकीय र कर्मचारी राखेपकै विज्ञ रहेको सदस्य सचिव घिसिङले बताए ।
नेपाल सरकारले ६० करोडभित्र नवौं प्रतियोगिता समापन गर्न निर्देशन दिएको छ । प्रतियोगिता २८ असोजदेखि ३ कात्तिकसम्म हुनेछ । जहाँ ३६ खेल आयोजना हुनेछन् ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ १४:४१