काठमाडौं– सशस्त्र प्रहरी बलको एपिएफ क्लबले होङ्गवाञ्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेलमैदानमा बुधबारदेखि शुरु भएको प्रतियोगितामा साविक विजेता एपिएफले पोखरा टप्स माविलाई ३–० सेटले पराजित गरेको हो ।
एपिएफले सो खेल २५–११, २५–१० र २५–५ अङ्कले जित्यो । आजको खेलमा निरुता ठगुन्नाले एपिएफबाट डेब्यु गरेकी छिन् । यही पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तेस्रो संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’मा एपिएफ क्लबसँगै पोखरा टप्स, त्रिभुवन आर्मी क्लब र पारा माउण्ड तथा समूह ‘बी’मा आयोजक न्यु डायमण्ड स्पोर्टस् क्लब, ढोरपाटन स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब छन् । लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने आयोजक क्लबका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कुमार राईले बताए ।
विजेता टोलीले रु चार लाख १०१, उपविजेताले रु तीन लाख १०१, तेस्रो हुनेले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पुरस्कार प्राप्त गर्ने राईले बताए । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु २१ हजार एक सय, उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेण्डर र प्रशिक्षकलाई रु सात हजार १०१ प्रदान गरिनेछ ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६ ०६:५२