काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘समाजवादी केन्द्र’ बनाउन प्रस्ताव गरेका छन् । प्रचण्डले बिहीबार ललितपुरको हात्तीवन हाउजिङमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधव नेपालसमक्ष उक्त प्रस्ताव राखेका हुन् ।
पूर्वप्रधानमन्त्री डा.भट्टराईले माओवादीमा नफर्किने बताएपछि प्रचण्डले समाजवादी केन्द्र निर्माणको प्रस्ताव अघि सारेको माओवादी केन्द्रका एक नेताले बताए । छलफलमा माधव नेपालले पार्टीभित्र छलफल गरेर निर्णय लिने धारणा राखेको ती नेताको भनाइ छ ।
‘प्रचण्डले समाजवादी केन्द्रको प्रस्ताव गर्नुभयो । उहाँहरूले पार्टीमा छलफल गर्ने बताउनु भएको छ । विद्यमान राजनीति र भावी निर्वाचनका कारण मिलेर जानुपर्छ भन्ने छलफल भएको छ,’ ती नेताले भने ।
उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो ।