नेपालगञ्ज - स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षणबाट प्राप्त नतिजाहरु कार्तिक ११ गते नेपालगञ्जमा सार्वजनिक गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेको आयोजनामा आज नेपालगञ्जमा सम्पन्न सामाजिक समावेशि सम्वन्धिको बैठकमा उक्त नतिजा सार्वजनिक गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेको सहयोगमा बासले बाँकेका २४ वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण कार्य सम्पन्न गरेको थियो । सम्पन्न सामाजिक परीक्षणबाट प्राप्त तथ्य तथा कार्ययोजना बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रममा प्रस्तुत गरेका थिए ।
परीक्षणबाट प्राप्त तथ्यहरुमा अधिकाँश स्वास्थ्यचौकी ३ बजे नैं बन्द हुने गरेको, चेतनाको स्तर बढेको, स्वयंसेबिका चेतना अभिबृद्धिमा संलग्न भएको, व्यवस्थापन समिति बारे अधिकाँश सेवाग्राहीलाई थाहा नभएको, स्वास्थ्यसेवामा पहुँच भएपनि घुम्ति सेवा बढाउन जरुरी भएको, स्वास्थ्य संस्थाको व्यवस्थापन सिमति स्रोत, साधनमा पनि भईरहेको, नागरिक बडापत्र अद्यावधिक नगरिएको, सूचना पार्टी व्यवस्थित नभएको, भौतिक पूर्बाधारको अभाब भएको, उचित व्यवस्था नभएको, निःशुल्क पाईने औषधिको बिबरण टाँस नगरिएको लगाएत छन् ।
बासले कट्कुइंयाँ, लक्ष्मणपुर, नरैनापुर, बागेश्वरी, साईगाउँ, रनियाँपुर, बनकटवा, टिटिहिरिया, गनापुर, कालाफाँटा, गँगापुर, मटेहिया कुसुम, बैजापुर, बनकट्टि, हिरमिनियाँ, कम्दि, होलिया, फत्तेपुर, बिनौना, बेतहनी, पिप्रहवा, सम्शेरगञ्ज र उढरापुर स्वास्थ्यचौकीको सामाजिक परीक्षण गरेको थियो ।
परीक्षणमा बासका कार्यकारी निर्देशक नमस्कार शाह, मन भण्डारी, शम्भु शाही, हेमराज भट्ट, प्रतिक्षा गिरी, बामदेव पोख्रेल, कल्पना अधिकारी र लक्ष्मी बि.सी. संलग्न थिए ।
बिभिन्न गतिविधिहरु मार्फत सामाजिक परीक्षण गरि प्राप्त समस्याहरु सुधारका लागि कार्ययोजना बनाईएको बासले जनाएको छ ।