काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले देखाएको बाटोमा आफूहरू सधैँ हिडिरहेको बताएका छन् ।
पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको प्रेरणा लिएर आफू आजको स्थानमा पुगेको बताए ।
उनले भने, ‘यस पार्टीको अध्यक्षको हैसियतले भन्छु पुष्पलाल र अरू सहिदहरूले देखाएको बाटोबाट अलिकति पनि दायाँबायाँ गर्ने छैनौँ ।’
पुष्पलालले गरेको संगठन विभिन्न उत्तरचढाव हुँदै आज देशको सबैभन्दा संगठित, सचेत, विस्तृत, परिवर्तनकारी र सबैभन्दा सवल शक्तिको रूपमा एमाले स्थापित भएको ओलीको भनाइ छ ।
उनले नेपाली समाजलाई सम्मृद्ध नेपाल सुखी नेपाली र स्वतन्त्र नेपाल बनाएर छोड्ने बताए । उनले विगतदेखि नै सत्ता स्वार्थका लागि नेपाली कांग्रेसले आफ्नै पार्टीका योद्धाहरू मारिँदासमेत सहिद स्वीकार्न र उचित सम्मान गर्न नसकेको आरोप लगाए ।
उनले भने, ‘ मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भीमदत्तलाई सहिद मान्दैन ।’ सहिद भिमदत्त पन्तलाई कांग्रेसले नै हत्या गरेको उनको आरोप छ ।
ओलीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि पुष्पलालले पुर्याएको योगदानको चर्चा गरेका थिए । पुष्पलालको २०३५ सालमा भारत निर्वासनकै क्रममा विरामीपछि निधन भएको थियो ।
उनको शव तत्कालिन पञ्चायत शासकले नेपाल ल्याउन प्रतिवन्ध लगाएपछि भारतमै दाहसंस्कार गरिएको थियो ।