काठमाडौं- मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ ।
शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । उक्त नीतिमा शेयर धितो कर्जाबापत लिन पाउने ऋणको तल्लो सीमा हटाइएको थियो ।
शेयर धितो कर्जाबापत १२ करोडसम्म ऋण लिन पाउनेलगायत प्रबन्ध गरिएपछि त्यसको प्रभाव शेयर बजारमा परेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.०५ अंकले उकालो लागेर २ हजार ७८.५१ मा पुगेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.०९ अंकले उकालो लागेर ३९८.३३ मा पुगेको छ । कूल २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता शेयर २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ मूल्यमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार कूल १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २२.८८, व्यापार ८८.०१, होटल तथा पर्यटन ७४.२, विकास बैंक १७७.३२, जलविद्युत् ८४.५, वित्त ११७.९९, उत्पादन १००.३९, अन्य १०३.८२, लघुवित्त १७५.१७, जीवन बीमा २०७.७७, सामूहिक लगानी कोष ०.१७ र लगानी २.१ अंकले उकालो लागेको छ ।
शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ६७ अर्ब ९८ करोड ६८ लाख ४७ हजार ५८१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार बराबरको कारोबार भयो ।
नेपाल पुर्नबीमा कम्पनी ६ करोड ८२ लाख ९३ हजार ९४७, हिमालयन डिस्टिलरी ६ करोड ५९ लाख ९१ हजार ८९५, एनआइसी एशिया बैंक ६ करोड २१ लाख ८१ हजार ४५० र अरुण काबेली पावर ६ करोड १४ लाख १३ हजार ९३७ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।
नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी र मल्टीप्रपोज फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै स्वाभिमान लघुवित्त ९.६८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६५ प्रतिशतले कमाएका हुन्।
यसैगरी एनएमबी बैंकको ऋणपत्र १.५२, ग्लोबल आइएमइ बैंकको ऋणपत्र १.०६, एनआइसी एशिया ग्रोथ स्कीम ०.७२, मेगा म्युचुअल फण्ड एक ०.६२ र ग्लोबल आइएमई बैंकको ऋणपत्र २०८६ का लगानीकर्ताले ०.५७ प्रतिशतले गुमाएका छन् ।