एजेन्सी- कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गरेको छ । उनले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराएको हो ।
कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत् शनिबार गराएको हो ।
कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार यहाँको संसदले राष्ट्रिय सभामा सो कुराको जानकारी गराउने छ ।
नवनियुक्त प्रधानमन्त्री र उनको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ ।
सोही बमोजिम सोमबार उक्त सभाबाट उनीहरुको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले जानकारी दिएको छ ।
यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मे मा दिएको राजीनामा कुवेतका अमिरले स्वीकृत गरेको थियो । उक्त मन्त्रिमण्डलमा नवनियुक्त प्रधानमन्त्री अहमद नवाफ अल–अहमद अल–सबाह उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ ११:५२