संसद् बैठकमा उपस्थित भएर विभिन्न विधेयकमाथिको छलफलमा भाग लिनु सांसदहरुको कर्तव्य हो । तर, आफ्नो कर्तव्य बिर्संदै सांसदहरुले संसद् बैठकलाई बेवास्ता गरिरहेका छन् । कतिपय सांसद हाजिर गरेर बैठकमा नबसी बाहिरिने गरेकाले पनि संसद्का अधिकांश कुर्सीहरु खाली हुने गरेका छन् । यसरी सांसदहरुले बैठकलाई बेवास्ता गर्दा गणपूरक संख्या नपुगी संसद् बैठक पटक–पटक स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
आइतबार प्रतिनिधिसभामा बैठकमा गणपूरक संख्या नपुग्दा दुईपटकसम्म बैठक स्थगित गर्नुपर्यो । आइतबारको बैठकमा कारागारसम्बन्धी विधेयकमाथि छलफल सकेपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गर्न लागेका थिए । तर, नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या यकीन गर्न माग गरे । सभामुखले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकीन गर्दा नपुगेपछि बैठक नै स्थगित गर्नुपर्यो । सभामुख सापकोटाले ‘गणपूरक संख्या नपुगेकाले’ भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरे ।
प्रतिनिधिसभामा कूल २७५ सांसद रहेका छन् । जसअनुसार गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात् ६९ सांसद अनिवार्य उपस्थित हुनुपर्छ । तर, ६९ सांसद नपुगेपछि बैठक स्थगित गर्नुपरेको थियो । आइतबार १५ मिनेटपछि पुनः बसेको दोस्रो बैठकमा बल्ल ७१ सांसद उपस्थित भए, र कारागारसम्बन्धी विधेयक पारित भयो ।
आइतबार नै ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६’ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेको उक्त विधेयकका केही प्रावधानमा राष्ट्रिय सभाले संशोधन गरेको थियो । सोही संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गर्ने कार्यसूची थियो । उक्त प्रस्ताव स्वीकृतिका लागि पेस गर्न लाग्दा फेरि गणपूरक संख्याको कुरा उठ्यो ।
सभामुख सापकोटाले पुनः तीन मिनेट घण्टी बजाएर सांसद संख्या यकीन गर्दा ५७ जना मात्र रहेको पाइयो । गणपूरकका लागि आवश्यक ६९ सांसद उपस्थित नभएपछि सभामुख सापकोटाले आइतबारको सबै कार्यसूची स्थगित गरे, र प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित गरिदिए ।प्रतिनिधिसभाबाट कुनै पनि प्रस्ताव पारित हुन एक चौथाइ सांसद अनिवार्य उपस्थित हुनुपर्छ । तर, सांसदहरुको गैरजिम्मेवारीपनले गणपूरक संख्या नपुग्ने समस्या संघीय संसद्मा देखिएको छ ।
त्यसो त सांसदहरुमाथि तलब भत्ता लिन मात्र संसद्मा उपस्थित हुने गरेको आरोप लाग्दै आएको छ । जुन उनीहरुले आफ्नै व्यवहारबाट आइतबार उक्त आरोपलाई पुष्टि गरिदिएका छन् । यसअघि पनि गणपूरक संख्या नपुग्दा सभामुखले संसद् बैठक स्थगित गरेका थिए ।जनताले चुनेर पठाएका सांसदहरु संसद् बैठकमै उपस्थित नहुनु भनेको संसद्प्रति अनुत्तरदायी बन्नु हो । यो भनेको जनताप्रति अनुत्तरदायी बन्नु हो । संसद्बाट पछिल्लो समय धमाधम विधेयकहरु पास हुने क्रम चलिरहेको छ ।
लामो समयदेखि रोकिएका विभिन्न विधेयकमाथि छलफल गरी पास गर्ने कार्यले तीव्रता पाइरहुदा सांसदहरु बैठकमै अनुपस्थित हुनु विडम्बनापूर्ण हो । यसरी गैरजिम्मेवार बन्ने छुट उनीहरुलाई छैन । राज्यको तलब भत्ता र सुविधा लिने तर अत्यावश्यक विधेयकहरुमाथि छलफल भइरह“दा उपस्थित नहुने प्रवृत्ति ठीक होइन । नागरिकता जस्तो महत्वपूर्ण विधेयक पारित हुँदासमेत प्रतिनिधिसभाका कुर्सीहरु खालीखाली थिए । यस्ता प्रवृत्तिले संसद् र सांसदको औचित्यतामाथि नै प्रश्न उठाएको छ । यो गल्ती फेरि नदोहोर्याउन सांसदहरु सचेत बनून् ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९ ०९:१९