काठमाडौं- शेयर बजार करिब ४५ अंकले घटेको छ । साताको पहिलो र दोस्रो कारोबारको दिन बढेको शेयर बजार तेस्रो दिन मंगलबार ओरालो लागेको हो ।
शेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार संख्या र रकम पनि घटेको छ ।
सोमबार चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा मंगलबार २२२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता शेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
गणपति लघुवित्त कम्पनीको शेयर करिब सात प्रतिशतले घटेको छ । रिभर फल्स पावर कम्पनी, सबैको लघुवित्त, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार राताम्मे भए पनि मल्टिपर्पोज फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९ १६:५९