काठमाडौं (प्रसं)– पश्चिमी न्यूनचापीय वायुको प्रभावले काठमाडांै उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताए । ‘पश्चिमी वायुको प्रभाव भोलिसम्म कायम रहनेछ’, मौसमविद् बासीले बताए ।
हाल देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका अधिकांश भू–भागमा हिमपात भइरहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६ ०७:५५