काभ्रेपलाञ्चोक - पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा रोजगारमूलक, उद्देश्यमूलक हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहमा उनले शिक्षाबारे यस्तो धारणा राखेका हुन् ।
उनले राष्ट्र समृद्ध बनाउन देशका नागरिक शिक्षित हुनुपर्ने बताए । उनले भने, ‘देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भई कसरी राष्ट्र निर्माणको भावना जोड्ने भन्ने खालको हुनुपर्छ ।’ उनले शिक्षित नागरिक देशको नभएसम्म देश नबन्ने बताए । उनले मुलुकको शिक्षाले राष्ट्र निर्माणको भावना जागृत गराउने खालको हुनुपर्ने बताए ।
उनले भने, ‘आज शिक्षा त हामी दिन्छौँ तर रोजगारमूलक, उद्देश्यमूलक तथा राष्ट्र निर्माणमा कसरी भावना जोड्ने भन्ने खालको हुनुपर्छ ।’ पूर्वराष्ट्रपति यादवले राष्ट्र उत्थान गर्न थुप्रै गतिविध हुनुपर्ने भन्दै आफ्नै जनशक्तिलाई व्यावसायिक शिक्षातर्फ आकर्षित गरी मुलुकमा नै रोजगारी सिर्जना हुनुपर्ने बताए ।
उनले सीप नहुने व्यक्ति अदक्ष जनशक्ति भएकाले मुलुकमा रोजगार विहिन भएपछि लाखौँको संख्यामा विदेश पलायन हुनुपर्ने बाध्यता भएको बताए ।नेपालका लागि जर्मनीका राजदूत टोमास हाइनरिस प्रिन्चले जर्मनमा स्कुले शिक्षा उत्तिर्ण गर्ने ५० प्रतिशत विद्यार्थीलाई व्यावसायिक शिक्षातिर लैजाने गरिएको जानकारी गराए । जसले गर्दा जर्मनमा विकासका कामहरुले प्राथमिकता पाएको बताए । उनले नवनिर्मित सेन्टरले राम्रो जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताए ।
पनौतीका नगरप्रमुख रामशरण भण्डारीले सो सेन्टरले युवा जनशक्ति उत्पादन गर्ने बताए । जसले गर्दा देश विकासमा सेन्टरको महत्वपूर्ण भूमिका हुने उनको भनाई थियो ।
पनौतीकै उपप्रमुख गीता बञ्जाराले युवा जनशक्ति उत्पादन गर्ने थलोका रुपमा स्थापना हुन लागेकाले एकेडेमीप्रति खुसी व्यक्त गरिन् । सो अवसरमा एकेडेमीका अध्यक्ष रवीन्द्र पुरीले पनौती नपा–४ डिहीगाउँस्थित १०७ रोपनी क्षेत्रफलको जग्गा सेन्टरलाई हस्तान्तरण गरेका थिए । सेन्टरको पहिलो बहुआयामिक भवन जर्मन नागरिक डा ह्यान्स् जोयछिम सिडेरको सात करोड नेपाली रुपैयाँमा जर्मन संस्था सुलन फ्यूर नेपालमार्फत निर्माण हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९ ०९:२५