पोखरा–उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने जानकारी गराएका छन् ।
प्रेस संगठन नेपाल कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी गराएका हुन् । उनले भने, ‘हामी कुनै इन्टरनेशनल मिलिट्री एलाइन्समा सामेल हुँदैनौँ ।’ उनले भारतसँगको सीमा विवादको सम्बन्धमा सरकार मौन नबसेको बताए । उनले सरकारले औपचारिक दावीसहित पहिलोपटक आधिकारिकरूपमा कूटनीतिक नोट पठाएको जनाए । भारतसँगको सीमा विवादको सम्बन्धमा पनि सरकारले औपचारिक दावीसहित पहिलोपटक आधिकारिक रूपमा कूटनीतिक नोट पठाएको जानकारी दिँदै उनले वार्ताको मिति तय हुनासाथ विवादित विषय छलफलका आधारमा टुङ्गोमा पुर्याइने बताए । उनले भने, ‘हामी हाम्रो एक इन्च भूमि पनि अरुलाई अतिक्रमण गर्न दिँदैनौँ, अरु कसैको एक इन्च जमीन पनि हामीलाई चाहिँदैन’ उनले सुगौली सन्धिको बेला जुन सीमा थियो त्यसमा ध्यान दिने बताए । उनले भने, ‘सुगौली सन्धिको बेला जुन हाम्रो सीमा थियो त्यसमा हामी ध्यान दिन्छौँ ।’ सुगौली सन्धिपछि एकतर्फीरूपबाट सीमा साँघु¥याउने काम भएकामा उनले गम्भीर ध्यानकर्षण भएको बताउँदै ऐतिहासिक तथ्य, प्रमाणका आधारमा हाम्रो सीमा जहाँ थियो त्यहीँ कायम राखिने बताए ।
उनले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) विषय संसद्मा छलफलका क्रममा रहेको र बहुकोणबाट राष्ट्रिय हितलाई सर्वोपरी राखेर यसको फैसला हुने बताए । उनले भने, ‘यो विषय संसद्मा छ, छलफल हुँदैछ, राष्ट्रिय हितलाई सर्वोपरी राखेर निर्णय गरिन्छ ।’ उनले विद्युत, विकास र यातायातका क्षेत्रमा नेपाली जनताको अधिकतम हितमा प्रयोग गर्नेगरी विगतको सरकारका पालामा नै यो विषय औपचारिक माग गरिएको बताए ।
नेपाल ट्रष्टको चल एवं अचल सम्पत्ति शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यवसायमा उपयोग गर्ने स्पष्ट नीति रहेको उल्लेख गर्दै उनले कानूनसम्मत ढङ्गले यिनीहरूको सदुपयोग गरिने स्पष्ट पारे । पोखरामा रहेका रत्न मन्दिर र हिमागृहका सम्बन्धमा उनले प्रदेश र स्थानीय सरकारसँग परामर्श गर्दै उपयोग गरिने बताउँदै भने, ‘अपारदर्शी ढङ्गले गैरकानूनीरूपमा केही काम हुँदैन, जनताको अधिकतम हितमा यसलाई प्रयोग गर्छौँ ।’