हिजो राजालाई महाराजा भनेर सम्बोधन गर्दा अहिलेका नेताहरूको पारो तात्थ्यो । राजालाई ‘मौसुफ’ भनेकैले नेताहरूबाट राजालाई हटाउने काम भएको थियो । राजाको चाकडी गर्नेहरूलाई नेताहरूले घिनाउँथे । राजाको वरिपरि हिँड्नेहरूलाई नेताहरूले मण्डले भन्दै आएका थिए । नेताहरूले यो मुलुकमा कोही ठूला साना छैनन्, सबै बराबरका हुन् भनेर सर्वसाधारणलाई पढाउने नेताहरू आज सत्तामा पुगेपछि तिनै नेताहरूले आज मान खोजेका छन् । नेताहरू शासन सत्ता चलाउन पुगेपछि उनीहरूलाई आदरार्थी शब्दबाट बोलाइमागेका छन् । कस्तो गज्जबको सोचाइ । हिजो सत्तामा नपुगुन्जेल कोही राजा नभएको सबै जनता एउटै हो भन्ने नेताहरूले आज आफूलाई माथिल्लो तहमा सोच्न थालेका छन् । हिजो राजाले देखाएको दम्भ आज नेताहरूमा सरेको छ । साँच्चै हुने नै हो भने नेताहरू नै राजा हुन चाहेका छन् । राजा नभए पनि छोटेराजाको शैलीमा नेताहरू अघि बढेको देखिन्छ । सत्तामा नपुगुन्जेल सबैलाई एकै नजरबाट हेर्ने नेताहरू जब सत्तामा पुग्छन्, तब उनीहरूमा छोटेराजाको दम्भ पाल्न थाल्छन् ।
भन्दाभन्दै सत्तामा पुगेपछि आफूलाई राम्रै चिज चाहिने भएको छ, यिनै नेताहरूलाई । आज उनीहरू हिँड्ने बाटोमा राखिएका प्रचार सामग्री हटाउनुपर्ने भएको छ । विशिष्ट व्यक्तिहरू (सत्ता सञ्चालकहरू) ओहोरदोहोर हुने विभिन्न क्षेत्रलाई केन्द्रित गरेर सहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्य अघि बढाइएको छ । उनीहरू हिँड्ने वा ओहोरदोहोर गर्ने मार्गबाट होर्डिङबोर्ड हटाउने काम भइरहेको छ । विभिन्न निकाय वा व्यापारिक प्रतिष्ठानले राखेको सहरको मुख्य स्थानमै प्रचार सामग्री राख्ने गरेको भन्दै सरकारले आफू हिँड्ने मार्गलाई राम्रो बनाउन खोजेको छ । हिजो जनता र नेता एउटै हुन् भन्नेहरू आज आफूलाई अर्कै वर्गको भनेर दम्भ पालिरहेका छन् । नेताहरूको यहि गरिब सोचाइले मुलुक अरु लथालिंग हुने देखिएको छ ।
भन्ने बेलामा सबै नेपाली एक भएको भन्ने तर शासक वर्गहरूलाई भने आफूलाई माथिल्लो दर्जाको भनेर देखाउन चाहेका छन् । जनता हिँड्ने बाटोमा भने असरल्ल फोहोर मैलाको थुप्रो हुनुपर्ने तर शासक वर्ग हिँड्ने बाटालाई भने सफा सुग्घर गरी चिटिक्क पारेर दम्भ देखाएकै हुन् । राजाले दम्भ पालेकैले जनताबाट पदच्यूत भएका हुन् । आज नेताहरूले पनि यहि पथलाई अंगीकार गरेको देखिन्छ । नेताहरूले पनि उस्तै गरी आफूलाई अलग भएको दम्भ पाल्ने हो भने निश्चित समयमा सत्ताबाट ओर्लनुपर्छ भन्ने कुरा चाहिँ बिर्सन हुँदैन । रूप, ताकत, धन र सत्ता भन्ने चिज लामो समयसम्म एक जनासँग मात्र रहँदैन । जुन दिन आफूबाट फुत्केर जान्छ त्यसदिन दम्भ पाल्नेको दिनगन्ती सुरु हुने हुनाले सत्ताको दम्भमा नेताहरू नफुल्दा नै उत्तम हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६ ०८:५०