मकवानपुर -अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत हेटौंडा(भैंसे सडक खण्डमा पर्ने बागझोरामा आएको बाढीका कारण सडक यातायात सेवा अवरूद्ध भएको छ ।
बिहानैदेखि आएको बाढीका कारण बाग्मती प्रदेशको राजधानी हेटौंडादेखि संघीय राजधानी काठमाडौं आवातजावत गर्ने सवारीसाधन सडकमा लाम लागेर बसेका छन् ।
बागझोरासँगै भैंसेदेखि भीमफेदीसम्मको सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले यातायात सेवा अवरूद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए ।
उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको र बाढी कम हुने वित्तिकै यातायात सेवा पुनः सञ्चालन गराइनेछ । हाल यातायात सेवा अवरूद्ध हुँदा हेटौंडा काठमाडौं मात्रै नभइ दामन,पालुङ, सिखरकोट र मार्खुसम्मका सवारी साधनलाई असर पुगेको छ । मकवानपुरमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९ १२:५३