काठमाडौं– पञ्च लामा र श्रवण लामा ‘चौतारी साँझ’मा प्रस्तुत हुने भएका छन् । अढाई दशकदेखि जापानमा रहेर ‘चौतारी समुह’ सांगीतिक समुह स्थापना गरी छुट्टै पहिचान बनाइसकेका उनीहरू यतिबेला काठमाडौमा छन् ।
र, यी जोडी ‘चौतारी साँझ’का लागि नेपाली लोक मौलिक धुनको रिहल्सल गर्दैछन् । काठमाडौंमा बिगतमा जस्तै उनीहरू यसपटक पनि आफ्नो मौलिक धुनहरूसहित साँगीतिक कार्यक्रम ‘चौतारी साँझ’ प्रस्तुत गर्दैछन् ।
कार्यक्रम चेतना सन्देश नेपालको आयोजनामा यही २६ पुसमा लतिलपुरका जाउलाखेलस्थित डिएभी
स्कुलमा हुनेछ ।
उनीहरूलाई नेपाल चर्चित बेस गिटारबादक अनुप दास, गिटारमै जापानी कलाकार तेराकादो मित्सुगु र
तालबादनमा शम्भु बानियाँले साथ दिनेछन् । उनीहरूले हरेकपटक कार्यक्रममा नयाँ नयाँ मौलिक धुन र दृश्य सामग्रीहरू प्रस्तुत गर्दै आएका छन् ।
यी दुईले १७ वर्षदेखि आफ्नै लगानीमा द्धन्द्धपीडित बालबालिकाका लागि बालगृह सर्लाहीको घुर्कैलीमा सञ्चालन गर्दै आएका छन् । उनीहरूले यो कार्यक्रम २९ पुसमा उक्त बालगृहको प्रागणमा पनि हुनेछ ।
सर्लाहीको हरिवन–५ घुर्कौलीको सामान्य किसान परिवारमा जन्मेका पञ्च लामाले सानै उमेरमा गोठाला जानेक्रममा बाँसुरी बजाउने गरेका थिए ।
पछि कलिलो उमेरमै काठमाडौं आएर सगीतकार गोपाल योञ्जनको छत्रछायाँमा उनी बाँसुरीबादक भए ।
पञ्च लामाले नेपाल पुलिस क्लब र रेडियो नेपालमा कर्मचारी भएर संगीतकारको रूपमा समेत काम गरे । त्यतिबेला उनले अरुण थापाको गीत चोट केहो ब्यथा केहो, कुन्ती मोक्तानको फैलियो माया दुबो सरी, माथि माथि सैलुँगेमा, प्रेमराजा महत र रेखा शाहको सिमसिमे पानीमा लगायत थुप्रै गीतमा धुन भरेका थिए ।
रेडियो नेपालमा रहेर केही वर्ष धुन सिर्जना गरेपछि २०५० सालमा कार्यक्रम प्रस्तुतिका लागि उनी जापान पुगे ।
सोही क्रममा उनले जापानमा चौतारी सांंगीतिक समूह स्थापना गरेका थिए ।
पञ्चकै प्रेरणाले भाई श्रवण पनि बाद्यबादनमा लागेका हुन् । उनी २०५५ मा जापान गएर दाईसँगै चौतारी ब्यान्डमा तवला बादकको रूपमा आबद्ध भए । यी दुईले जापानसहित करिब १५ मुलुकमा साँगीतिक कार्यक्रम गरिसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६ १०:२०