काठमाडौं- उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् ।
कोसीे नदीको बाँध फुटेर गाउँ पस्दा बराहक्षेत्र–६ र ९ का पाँच सय घरपरिवारका दुई हजार पाँच सयजना फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनीहरु श्रीलङ्का टापुमा फसेको उनले बताए । त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरु आउन नमानेको र फसेकाहरु सुरक्षित रहेको बताएको सुनसरीका प्रजिअ यादवले बताए ।
यसैबीच कटान गरिएको क्षेत्रमा १ नं प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्की सहितले निरीक्षण गरेको छ । मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ यादवले बताए । अहिले केही बेरमा प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९ १४:३१