काठमाडौं -जापानी भाषा र सीप परीक्षा उतिर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो ।
बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी भाषा र सीप परीक्षामा उर्तिणलाई सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै बिहिबार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो । सो प्रणाली अन्तर्गत कृषि, मत्यस्यपालन, औद्यगिक क्षेत्र, होटेल तथा रेष्टुरेन्ट, पर्यटन, निमार्ण, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा भाषा र सीप परीक्षा उर्तिण भएका नेपालीले काम गर्ने अवसर पाउने छन् ।
दक्षिण कोरिया पछि सुरक्षित र आर्कषक आम्दानी हुने देशमा पर्ने भएकाले पहिलो पाँच वर्षमा ४५ हजार १ सय ५० नेपाली श्रमिकलाई जापान लैजाने दुवै देशका बीचमा अनौपचारिक सहमति भएको थियो । गत ११ चैत २०७५ मा उच्च सीपयुक्त कामदार अन्तर्गत नेपाली नागरिकलाई जापनामा रोजगारीको अवसर प्रदान गर्ने गरी नेपाल र जापान सरकारबीच श्रम समझदारीमा हस्ताक्षर भएको हो ।
कोरोना महामारीका कारण झन्डै ३ वर्ष अड्किएको सो प्रक्रिया सुरु गर्नका लागि आज नेपाल र जापानबीच संयुक्त बैठक बस्न लागेको हो ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९ ११:३७