काठमाडौं- कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका कृषकलाई ४ करोड रूपैयाँ अनुदान उपलब्ध गराएको छ ।
जिल्लाका विभिन्न १३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई ४ करोड २ लाख ९ हजार रूपैयाँ अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।
प्रदेश सरकारमार्फत दुई करोड १३ लाख ९१ हजार ८१० रूपैयाँ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत १ करोड ६७ लाख ६९ हजार ८६० रूपैयाँ र संघको सशर्ततर्फको २० लाख ४७ हजार ३३० रूपैयाँ जिल्लाका ती कृषि फार्म, कृषि सहकारी र कृषकलाई उपलब्ध गराइएको हो ।
कृषि ज्ञान केन्द्रले जिल्लामा सञ्चालन गरेको विभिन्न कार्यक्रमबाट तीन हजार तीन सय ९० कृषक परिवार लाभान्वित भएका छन् ।
प्रदेश सरकारमार्फत आएको कार्यक्रमबाट पाँच सय ६७ महिला र पाँच सय १३ पुरुष गरी एक हजार ८०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आएको कार्यक्रमबाट एक सय ७८ महिला र एक सय ९७ पुरुष गरी तीन सय ७५, संघ सशर्तबाट ५३ महिला र ५४ पुरूष गरि १२७ तथा माटो तथा मल परीक्षण प्रयोगशालामार्फत १ हजार ८०८ कृषक परिवार लाभान्वित भएका हुन् ।
लाभान्वित हुनेमा दलित ११३ परिवार, जनजाति ३५५ र विपिन्न ३३८ परिवार रहेको कार्यालयले जनाएको छ ।
२ लाख १७ हजार मेट्रिकटन खाद्यान्न बचत
झापामा आव २०७८/७९ मा २ लाख १७ हजार ४८६ मेट्रिक टन खाद्यान्न बचत भएको छ ।
जिल्लामा एक लाख ५९ हजार २२० हेक्टरमा धान, मकै, गहुँ, कोदो, फापरलगायतका अन्नबाली लगाएको थियो । त्यसबाट सात लाख २६ हजार एक सय १५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको कार्यालयले जनाएको छ ।
खानयोग्य कुल उत्पादन चार लाख सात हजार तीन सय ५७ मेट्रिकटनमध्ये जिल्लामा वार्षिक खपत हुने १८९ हजार ८७१ मेट्रिक टन कटौती गरि २ लाख १७ हजार ४८६ मेट्रिक टन खाद्यान्न बचत भएको कार्यालय प्रमुख विष्टले बताए ।
कार्यालयले माटो सुधारका लागि माटो नमूना विश्लेषण ६००, माटो परीक्षण घुम्ती शिविर ६, माटो परीक्षण शिविर ९, मलको नमूना विश्लेषण ३०, माटो व्यवस्थापनसम्बन्धी सचेनामूलक घुम्ती तालिम १० सञ्चालन गरेको छ । ती कार्यक्रमबाट १ हजार ५२८ कृषकको माटो सुधारको प्रयास गरिएको छ ।
जिल्लामा गरिएको नमूना माटो परीक्षणबाट माटोको अवस्था कमजोर रहेको पाइएको छ ।
संकलित माटोको नमूना परीक्षण गर्दा ७८ प्रतिशत माटोमा प्रांगारिक पदार्थ कम, ८० प्रतिशतमा नाइट्रोजन कम, ५३ प्रतिशतमा फस्फोसर कम र ६५ प्रतिशतमा पोटास कम मात्रा रहेको पाइएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९ १५:४६