केही दिनदेखिको वर्षातले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति ग¥यो । बाढी, पहिरो, डुबानलगायतका समस्याले नागरिकले सास्ती खेप्नुपर्यो । जुन क्रम आजका दिनसम्म जारी छ । सप्तकोसी नदीमा पानीको बहाब निरन्तर बढेपछि बुधबार रातिसम्म ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलिएको छ । पानीको तीव्र बहाबका कारण कोसीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । पानी बहाब बढ्न थालेपछि कोसी क्षेत्रका सयौं नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उद्धार जारी छ ।
यता, काठमाडौं भित्रिने प्रमुख राजमार्ग नारायणढ–मुग्लिन सडकखण्डको हालत उस्तै बेहाल छ । ठाउँ–ठाउँमा पहिरो खस्दा बाटोको बिजोग छ । यात्रुहरू १८/२० घण्टा जाममा पर्ने गरेका छन् । घरिघरि खस्ने पहिरोले यात्रुलाई दुःख दिइरहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा भइसक्यो । तर, सडक स्तरोन्नति भए पनि पहिरोको जोखिम भने घट्नुको साटो बढिरहेको छ ।
हरेक वर्ष बर्खाको समयमा पहिरोका कारण यो सडकमा समस्या हुने गरेको छ । यो सडकखण्डमा अहिले नयाँ–नयाँ ठाउँमा पहिरो झर्ने गरेको छ । एक ठाउँमा पहिरो हटायो फेरि अर्को ठाउँमा झरिसक्छ । कुनै ठाउँमा पहिरो पन्छाइसकेको केहीबेरपछि पुनः झर्ने गरेको छ । केही दिनयता ठाउँ–ठाउँमा पहिरो जाँदा लामो समय गाडी रोकिनुपरेको छ भने यात्रा जोखिमपूर्ण बनेको छ । पछिल्लो तीन वर्षमा यो सडकखण्डमा पहिरो रोक्ने कामका लागि मात्र ४० करोड रुपैयाँ खर्च भइसकेको छ । तर, समस्या उस्तै छ ।
नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना अन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तार गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई दुई अर्ब ९० करोड रुपैयाँ खर्च गरी तीन वर्ष लगाएर विस्तार गरिएको सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोको समस्या देखिने गरेको छ ।
सप्तकोसी र नारायणगढ–मुग्लिन सडक त उदाहरण मात्र हुन् । बर्खाको समयमा देशका धेरै ठाउँमा नागरिकले बाढी, पहिरो र डुबानको सास्ती खेप्नुपर्छ । चाहे सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र होस्, चाहे बुटवल–पाल्पा सडकखण्ड । सबैतिर नागरिकले सास्ती झेल्नुपर्छ ।बर्सेनि आउने यस्ता समस्या समाधानका लागि राज्यले ठोस पहल गर्नुपर्छ । दीर्घकालीन समाधानको बाटो रोज्नुपर्छ । नत्र हरेक वर्ष पीडाका गीत गाइरहनुपर्ने विडम्बना हुनेछ । नागरिकले सास्ती झेलिरहनुपर्नेछ । घरबारविहीन हुनुपर्नेछ । आफन्त गुमाउनुपर्नेछ । तसर्थ, राज्यले यी कुरामा ध्यान दिनुपर्छ ।
हाललाई भने सप्तकोसी क्षेत्रका बासिन्दालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्नुपर्छ । यसैगरी, नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्ने यात्रुका लागि वैकल्पिक व्यवस्था गर्नुपर्छ । यो बाटो भएर यात्रा गर्दा खासगरी बिरामी, बालबालिका, गर्भवती महिलालाई हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिएर ‘र्यापिड रेस्पोन्स टिम’को व्यवस्था गर्नुपर्छ ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९ १०:५०