श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताए । वैदेशिक रोजगारी बाध्यता भएकोले स्वेदशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन जनचेतना फैलाउन जरुरी रहेको उनको भनाइ छ ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमबार वैदेशिक रोजगार र श्रमसम्बन्धी रहेका समस्याका सम्बन्धमा गरेको बैठकमा मन्त्री कुँवरले स्वदेशमा नै रोजगारी सिर्जना गराउने र श्रमिकलाई श्रम गर्न जनचेतना फैलाउन जरुरी रहेको बताएका हुन् । बाहिरी मुलुकबाट कामदार आएर नेपालमा श्रम गरिरहेको उल्लेख गर्दै उनले रोजगारीका लागि नेपालीहरु विदेशिनु दुःखद् भएको बताए ।
मन्त्री कुँवरले स्वदेशमै रोजगारीको अवसर रहेको बताए पनि तथ्यांकले त्यस्तो देखाउँदैन । स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगार नेपालीहरुका लागि बाध्यता बनेको छ । बर्सेनि लाखौं संख्यामा युवाहरु विदेशिने गरेका छन् । उनीहरुमध्ये कोही पनि रहरले पक्कै विदेशिएका होइनन् ।
आफ्नो परिवार र सन्तानको भविष्यका खातिर वैदेशिक रोजगारीमा जानु उनीहरुका लागि अन्तिम विकल्प बनेको छ । यसरी विदेशिएका नेपालीहरुबाट पठाएको रेमिट्यँन्सबाटै मुलुकको अर्थतन्त्र धानेको छ । अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सबाट आउने रकमले ओगट्दछ ।
यद्यपि, मन्त्री कुँवरले भनेजस्तै स्वदेशका उद्योगहरुमा कामदारको अभाव छ । एकातिर स्वदेशमा कामदारको अभाव अर्कोतर्फ वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै जानु ठीक उल्टो देखिन्छ । स्वदेशमै रोजगारीमा लगाउन सरकारले सकेको छैन । यहाँका उद्योग वा रोजगारदाताहरुले किन नेपाली श्रमिकहरुलाई आकर्षित गर्न सकिरहेका छैनन् भन्ने प्रश्न उठ्छ ।
सरकारले रोजगारी सिर्जना गर्न भन्दै ल्याएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । यस्तै अन्य कार्यक्रम पनि नतिजमुखी बन्न सकेको देखिँदैन । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक लाख ४५ हजार ११३ जनालाई स्वरोजगार बनाइएको श्रम मन्त्रालयको भनाइ छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल वैदेशिक रोजगारमा जानेको संख्या अहिले बढेको बताउँछन् । उनका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा छ लाख ४२ हजार जना वैदेशिक रोजगारीका लागि गएकामा आव २०७७÷७८ मा एक लाख ६६ हजारमा झरेको थियो । यस्तै आव २०७८/७९ मा त्यो संख्या बढेर छ लाख २१ हजार जनामा पुगेको छ ।
वैदेशिक रोजगारीमा जाने तिनै श्रमिकहरुको जीवन असुरक्षित बनिरहेको तथ्य लुकेको छैन । विभिन्न श्रम गन्तव्य मुलुकमा रोजगारीका लागि गएर ज्यान गुमाउने नेपालीको संख्या बर्सेनि बढ्दै गएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार ४७९ नेपालीले ज्यान गुमाएका छन् ।
उक्त संख्या अघिल्लो आर्थिक वर्षभन्दा २३७ जनाले बढी हो । आर्थिक वर्ष २०७७/७८ मा एक हजार २४२ जनाको मृत्यु भएको थियो । बोर्ड सचिवालयले राखेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक हजार ४७९ जना मृतकका परिवारले क्षतिपूर्ति बुझेका छन् ।वैदेशिक रोजगार तत्काल बन्द गर्न सकिने अवस्था छैन । त्यसैले सुरक्षित बनाउन आवश्यक छ । दीर्घकालीन लक्ष्य स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने हुनुपर्छ ।
त्यसअनुसार कार्यक्रमहरु अगाडि बढाइएको पनि छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपेक्षाकृत नतिजा आउन सकेको छैन । त्यसैले अब सरकारले नतिजा आउने गरी काम गर्नुपर्छ । स्वदेशमै रोजगारी भाषणमा होइन, व्यवहारमा कार्यान्वयन हुन आवश्यक छ ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९ ०९:५३