काठमाडाैं - वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला पाहुना टोली भारतले जितेको छ । गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको हो ।
भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभर १ बलमा १ सय ३२ रनमा अलआउट भयो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४/२४ रन बनाए ।
भारतका अर्शदीप सिंहले ३ विकेट लिए । त्यस्तै अक्षर पटेल, रवि विष्नोइ तथा आभेस खानले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।उसका लागि ऋषव पन्तले ४४ रन बनाए । कप्तान रोहित शर्माले ३३ तथा सन्जु सामसनले अविजित रहँदै ३० रन जोडे ।
वेस्ट इन्डिजका ओबेड म्याकोइ र अल्जारी जोसेपले समान २/२ विकेट लिए । जितसँगै चार खेलमा भारतले ३–१ को अग्रता बनाएको छ । पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो ।
त्यस्तै दोस्रो खेल वेस्ट इन्डिजले ५ विकेटले जितेको थियो । तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । भारत र वेस्ट इन्डिजबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुनेछ ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९ ०९:१३