बैतडी- बैतडीमा पहिलो पटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ । यहाँ १० स्थानीय तह रहेका छन् ।
केही दिनअगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितहरूलाई उपचारको दायरमा ल्याउन र उनीहरूलाई सम्बन्धित ठाउँसम्म पुर्याउन सहयोग गर्ने उद्देश्यले कोरोना कोष स्थापना गर्ने निर्णय भएको जिल्ला अधिकारीको भनाइ छ ।
संक्रमणको चौथो लहरको जोखिम बढिरहेकालाई पूर्वतयारी गर्न थालिएको हो । उनले भने, ‘सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाहरूलाई होल्डिङ सेन्टरमा राख्दा र उनीहरूलाई सम्बन्धित ठाउँमा पुर्याउन लाग्ने पैसा सो कोषबाट खर्च गरिनेछ ।’
कोरोना कोष स्थापना गरेर त्यसको व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ ।
विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर र आइसोलेसन, क्वारेन्टिन निर्माण गरिने, कोरोना विरूद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरूको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने निर्णय गरेको छ ।
यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्नेसमेत निर्णय भएको छ ।
भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म ३ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाको निधन भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९ ११:३६