काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूबीच भेटवार्ता भएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफलका लागि नेताहरूबीच भेटवार्ता भएको बताइएकाे छ ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार ‘नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भएकाे र प्रधानमन्त्री पनि साे मागका सम्बोधनका विषयमा सकारात्मक भएकाे बताएका छन् ।
प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक भएको नेता महतोले जानकारी दिए ।
पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी भएको उनको भनाइ छ । भेटमाा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतको सहभागी थिए ।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९ २०:३०