काठमाडाैं - पाँच दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।
गठबन्धनमा रहेका दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको आज बसेको पहिलो बैठकले कांग्रेस पूर्वमहामन्त्री सिटौलालाई संयोजकमा चयन गरेको हो ।
बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्नेगरी अघि बढाउनुपर्ने सम्बन्धमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।
कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरुलाई बुझाउनेछ । यसअघि बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय उक्त कार्यदल गठन गरेको थियो ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ भने नेकपा (माओवादी केन्द्र)बाट नेताहरु वर्षमान पुन र देव गुरुङ छन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुन् ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९ २०:१३