काठमाडौं- नर्भिक इन्टरनेशल हस्पिटलले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ ।
काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू–२० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको हो ।
नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले उक्त जग्गा खाली गर्नु नपर्ने दाबी गरेका हुन् ।
२०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौतापत्रसमेत सार्वजनिक गरेका छन् ।
काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएपछि नर्भिकले सम्झौतापत्र नै सार्वजनिक गरेर जग्गा खाली नगर्ने बताएको हो ।
पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष सिंहले उनले महानगरले खाली गर्नु भनेको जग्गामा टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाई गरेको जानकारी दिए ।