काठमाडौं-पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ ।
ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा सो पुलको निर्माण सम्पन्न गरेको हो ।
पुल कुल २ करोड ५० लाखको लागतमा निर्माण गरिएको छ । गत २०७८ मंसिरमा सम्झौता गरी पुसबाट पुल निर्माण सुरु गरेको र गत २०७९ वैशाखमा काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख ई सञ्जयकुमार मिश्रले जानकारी दिए ।
यस्तै धनुषा र महोत्तरी जिल्लालाई जोड्ने महत्वपूर्ण रातुखोलाको पुल पनि सम्झौता अवधिअगावै निर्माण सम्पन्न भएको छ । कुल १४ करोडको लागतमा पप्पु दिवा जेभी प्रालिले दुई सय मिटर लामो पुल निर्माण सम्पन्न गरेको प्रमुख मिश्रले बताए ।
आव २०७५र७६ मा सम्झौता भई २०७९ वैशाखमा निर्माण सम्पन्न गरेको हो । आव २०७८/७९ मा निर्माण सम्पन्न भएका यी दुवै पुलको गत २०७९ वैशाखमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले उद्घाटन गरेकी थिइन् ।
अत्यन्तै महत्वपूर्ण मानिएको दुवै पुल निर्माणसँगै यातायात आवागमनमा सहजता भएको स्थानीयले बताएका छन् । कम रकममा ठेक्का सम्झौता गर्ने र वर्षौसम्म योजना अलपत्र छाड्ने प्रवृत्ति बढिरहेका बेला यसरी समयअगावै पुल निर्माण सम्पन्न गरेर राम्रो उदाहरण प्रस्तुत गरेको बर्दिबासका स्थानीय तारणी लामगादेले बताइन् ।
‘ठेकेदारको प्रवृत्ति देख्दा यो पुल पनि वर्षौसम्म बन्दैन कि भन्ने हाम्रो चिन्ता थियो’, लामगादेले भनिन्, ‘तर निर्माण कम्पनीले सोचेभन्दा थोरै समयमा पुल निर्माण सम्पन्न गरेको छ ।’ यो अरु निर्माण कम्पनीका लागि पनि उदाहरणीय कार्य भएको उनको भनाइ छ ।
यी दुई पुलमात्र होइन, आव २०७८/७९ मा धनुषा र महोत्तरीका ११ वटा पुल निर्माण सम्पन्न भएको छ । दुवै जिल्लाका विभिन्न सडकमा निर्माणाधीन ५३ वटा पुलमध्ये यस आवमा ११ पुलको निर्माण सकिएको र बाँकी पुलको निर्माणकार्य भइरहेको प्रमुख मिश्रले बताए ।
ठेक्का लिएर पनि लामो समयदेखि काम अलपत्र छाड्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु गरेपछि धमाधम पुल निर्माण भएको प्रमुख मिश्रको भनाइ छ । उनका अनुसार योजना अलपत्र छाड्ने ८८ निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
यस्तै सडक डिभिजन कार्यालय जनकपुरधाम धनुषाद्वारा निर्माणाधीन धनुषा र महोत्तरीका रणनीतिक सडकमध्ये आव २०७८/७९ मा २५ किलोमिटर सडक कालोपत्र गरिएको छ । कुल ८८ किलोमिटर सडकमध्ये आव २०७८/७९ मा २५ किलोमिटर सडक कालोपत्र गरिएको सडक डिभिजन कार्यालय जनकपुरधामले जनाएको छ ।
गत आव २०७७/७८ मा धनुषा र महोत्तरीमा १७ वटा पुल निर्माण भएको थियो भने ८८ किलोमिटर सडक कालोपत्र भएको थियो । बजेट आभावका कारण अघिल्लो आव २०७७र७८ को तुलनामा आव २०७८र७९ मा कम संख्या पुल निर्माण र सडक कालोपत्र भएको प्रमुख मिश्रको भनाइ छ ।
यस्तै आव २०७८/७९ मा तराई मधेस विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत धनुषा र महोत्तरीमा विभिन्न ८८ वटा सडक पूर्वाधारका योजना प्रदेश सरकारमा हस्तान्तरण गरिएको प्रमुख मिश्रले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९ ११:१७