काठमाडौं उपत्यकाको प्रमुख समस्यामध्ये एक हो फोहोर व्यवस्थापन । देशको संघीय राजधानी रहेको सहर काठमाडौंमा फोहोरको समस्या बल्झिरहन्छ । साँस्कृतिक सहर दुर्गन्धमा अल्झिरहन्छ ।
उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले दीर्घकालीन उपाय अवलम्बन नगर्दा समस्या हरेक वर्ष दोहोरिने गरेको छ । हरेक वर्षजसो विभिन्न बहानामा उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध आउने गर्छ । अवरोधले उपत्यकावासीलाई समस्यामा पार्छ भने सडकभर फोहोरको थुप्रो लाग्छ ।
सरकारले फोहोर व्यवस्थापन गर्ने ‘ल्याण्डफिल साइट’को उचित व्यवस्था नगर्दा फोहोर फालिने क्षेत्रका बासिन्दाले पनि विभिन्न समस्या भोगिरहेका छन् । उनीहरूसँग पटक–पटक गरिएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसले गर्दा ल्याण्डफिल साइट क्षेत्रका बासिन्दा बर्सेनि आन्दोलित हुने गरेका छन् ।
सिसडोलवासीका प्रतिनिधि, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच बेलाबेला हुने विवादको मारमा भने उपत्यका र ल्याण्डफिल साइट क्षेत्रका सर्वसाधारण पर्ने गरेका छन् ।
सरकारले १७ वर्षदेखि सिसडोल क्षेत्रमा फोहोर फाल्दै आएको छ । सुरुमा दुई वर्षका लागि भनेर त्यस क्षेत्रलाई ल्याण्डफिल साइड बनाइएको थियो । बञ्चरेडाँडाको डम्पिङ साइट तयार नहुँदासम्म सिसडोलमा अस्थायी रूपले फोहोर फाल्ने सम्झौताअनुसार २०६२ जेठ ६ गते भएको थियो ।
हाल काठमाडौं महानगरपालिकाबाट दैनिक ५१६ टन, कीर्तिपुरबाट छ, कागेश्वरी मनहराबाट २०, चन्द्रागिरीबाट ३०, गोकर्णेश्वरबाट ५५, टोखा, बँढानीलकण्ठ र तार्केश्वर नगरपालिकाबाट ३५÷३५ टन फोहोर उत्पादन हुन्छ । दक्षिणकालीबाट १५, नागार्जुनबाट ३५ र शंखरापुरबाट आठ टन फोहोर उत्पादन हुने तथ्यांक छ ।यस्तै, ललितपुर महानगरपालिकाबाट १३० टन, गोदावारीबाट २५ टन, महालक्ष्मीबाट ३०, मध्यपुर थिमीबाट ३०, चाँगुनारायणबाट १५ र सँर्यविनायकबाट २५ टन फोहोर उत्पादन हुने गरेको छ ।
काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागँ हुनेगरी कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै उठाउने भन्यो । घर, पसल, होटल, कार्यालयलगायतबाट निस्किने फोहोरलाई छुट्टाछुट्टै राख्न महानगरले आग्रह ग¥यो । त्यसरी फोहोर नछुट्याए कारबाही गर्ने महानगरले चेतावनी पनि दियो । नछुट्याएको फोहोर नउठाउने भन्यो । सोहीअनुसार महानगरले बार निर्धारण गरेर फोहोर उठाउन थाल्यो ।
तर, साउन १ गतेदेखि नै काठमाडौं उपत्यकाको फोहोर नियमित भने उठ्न सकेको छैन । यतिबेला काठमाडौं उपत्यकाका विभिन्न चोक र सडकमा फोहोर थुप्रिएको छ । यता काठमाडौं उपत्यकामा फोहोर थुप्रिएको छ भने उता फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका छन् । सोमबार राति बञ्चरेडाँडा पुगेका स्काभेटर, डोजर र फोहोर बोकेका गाडीमाथि स्थानीयवासीले तोडफोड गरेका छन् ।
बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने दुईवटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौंबाट फोहोर बोकेर गएका तर रात परेर खन्याउन नपाएर आलेटारनजिक पार्किङ गरेर राखिएका १४ वटा गाडीहरूमा तोडफोड भएको बताइएको छ । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार तोडफोड गरिएका सवारी तथा उपकरणहरूमध्ये क्यापिङ गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । यस्तै, रोकेर राखिएका गाडीहरूको सिसा फोडिएको छ ।
स्थानीय तहको निर्वाचनअघि फोहोर व्यवस्थापनलाई मुख्य मुद्दा बनाएका बालेन्द्र (बालेन) शाह मेयरमा निर्वाचित भएपछि फोहोर व्यवस्थापन सहज हुने अनुमान गरिएको थियो । मेयर शाह आफैंले पटक–पटक सिसडोल र बञ्चरेडाँडा पुगेर फोहोर व्यवस्थापनका लागि सहजीकरणको प्रयास नगरेका होइनन् । तर, समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन । र, सबै समस्या काठमाडौं महानगरपालिका एक्लैले सम्बोधन गर्न सक्दैन । क्षेत्राधिकार पनि पर्दैन ।
तसर्थ, यो समस्याको दीर्घकालीन समाधानका लागि सरकारले पहल लिनुपर्छ । नत्र हरेक वर्ष दोहोरिरहनेछ फोहोरको कथा । अनि उपत्यकावासीले बेहोरिरहनुपर्नेछ फोहोरको दुर्गन्ध । सरकार र सरोकारवाला सबै यसमा जिम्मेवार बन्न जरुरी छ । फोहोरमाथिको राजनीति तत्काल अन्त्य गरिनुपर्छ ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९ १०:१५