बैतडी- सुदूरपश्चिम प्रदेशमा एकैदिन ९४ जनामा कोरोना सङ्क्रमण भएको छ ।
गएको २४ घण्टामा एक हजार एकसय सात जनाको परीक्षण गर्दा ९४ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ५७, कैलालीका ३३, डडेल्धुराका दुई, बैतडीका एक र दार्चुलाका एकजना रहेका छन् ।
तीमध्ये भारतबाट फर्किएका २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
गौरीफन्टा नाकाबाट १२, गड्डाचौकी नाकाबाट फर्किएका सात, पुलघाट नाकाबाट एक र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
सुदूरपश्चिममा हालसम्म पाँच लाख ६६ हजार आठ सय ९९ जनाको कोरोना परीक्षण गरिएकामा ६० हजार छ सय पाँच जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३४ जनाको ज्यान गइसकेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९ १९:४२