काठमाडौं- प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्नका लागि तयार रहन रक्षा मन्त्रालय र नेपालीसेनालाई निर्देशन दिएका छन् ।
रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को चौमाषीक समिक्षा तथा वार्षिक प्रगति समिक्षा बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचनको आवश्यक तयारी पूरा गर्न निर्देशन दिएका हुन् ।
उनले नेपाली सेनाले मुलुकको सुरक्षा, विकास निर्माण एवं विपद् व्यवस्थापनमा पुर्याएको योगदानको प्रशंसा गरे । प्रधानमन्त्री देउवाले सेनालाई साधन श्रोत सहित आधुनिक र थप व्यावसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताए ।
प्रधानमन्त्री देउवाले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनता रक्षाको लागि राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा नीति कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताए ।
नेपाली सेना अन्तर्गत निर्माण भैरहेका राष्ट्रिय गौरवको आयोजनाका काम यथाशीघ्र सम्पन्न गर्नका लागि प्रभावकारी समन्वय गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए।
मुख्य सचिव शंकरदास बैरागीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न सबै निकायको समन्वयकारी भूमिका अपिरहार्य रहेको बताएका छन् ।
प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौ निजगढ द्रुतमार्ग निर्माणमा खोकनाको जग्गा प्राप्तिमा जटिल समस्या रहेकोले सरकारले आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९ २०:२७