एजेन्सी- भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदिश धनखरले भारतको १४औँ उपराष्ट्रपतिका रुपमा सपथग्रहन गरेको छ । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथग्रहन गराएको हो ।
गत अगस्ट ६ मा भएको निर्वाचनबाट उनी उपराष्ट्रपतिमा निर्वाचित भएको हो। उनी निर्वाचित भएको घोषणा भने अगस्ट ७ मा प्रमुख निर्वाचन आयुक्त राजिभ कुमार र निर्वाचन आयुक्त अनुपचन्द्र पाण्डेले गरेको थियो ।
उपराष्ट्रपतिमा निर्वाचित धनखरसँग विपक्षी गठवन्धनको समर्थन पाएका उम्मेदवार मार्गरेट अल्भाले प्रतिश्पर्धा गरेको थियो । भारतको संघीय संसदमा भएको निर्वाचनमा धनखरले ५२८ मत पाउँदा अल्भालाई १८२ मत परेको थियो । यसरी हेर्दा उपराष्ट्रपतिम निर्वाचित धनखरले ७४.३६ प्रतिशत बराबरको मत प्राप्त गरेको छ । सन् १९९७ पछिका ६ उपराष्ट्रपति मध्ये उनले सबै भन्दा धेरै मत ल्याएको हो ।
उपराष्ट्रपति चयनका लागि ७८० जनाले मतदान गर्न पाउने थिए । ती मध्ये ७२५ जनाले मात्रै मतदान गरेका थिए । खसेको मत मध्ये पनि १५ मत रद्ध भएको थियो । उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा ३५६ मतको आवश्यकता पर्नेमा धनखरले अत्यधिक धेरै ५२८ मत पाउन सफल भएको हो ।
उनको जन्म सन् १९५१ को मे १८ मा भारतको राजस्थान राज्यको झुन्झुनुमा सामान्य किसान परिवारमा भएको हो ।उनले विद्यालय तहको शिक्षा छत्तिसगढ स्थित सैनिक विद्यालयबाट पुरा गरेको थियो। उनले उच्च शिक्षामा भने भौतिक शास्त्र र कानुन शास्त्र अध्ययन गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९ १५:४७