बाँके-आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार ८ सय १७ जना नयाँ मतदाता थपिएका हुन् ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट ३ लाख २९ हजार ४ सय ७३ जनाको मतदाता नामवली आयोगले सार्वजनिक गरेको थियो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा ६ हजार ८ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिए ।
उनका अनुसार गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भर्न खुला गरिएको थियो । असारमा ४ हजार ४ सय ४३ र साउनको १९ गतेसम्म २ हजार ३ सय ७४ ले मतदाता नामावलीका लागि आवेदन दिएका थिए ।
बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, जिल्ला निर्वाचन कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली आवेदन संकलन गरिएको थियो ।
प्राप्त भएका आवेदनलाई संकलन गरेर केन्द्रमा पठाउने तयारी भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले बताए ।
आवेदन दिएका सबैले अहिलेनै मतदाता नामावली पाउने निश्चित हुँदैन। कतिपयले १६ वर्षमा नागरिकता पाउनेबित्तिकै मतदाता नामावलीको फारम भरेका हुन्छन् । उनीहरूले १८ वर्ष पुगेपछि मात्र मतदान गर्ने अधिकार प्राप्त गर्ने गर्दछन् ।
जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालयले राखेको मतदाता नामावली संकलन केन्द्रमा नयाँ नागरिकता बनाउन आएका अधिकांशले आवेदन दिने गरेका थिए ।
निवेदन दिएकाको आवश्यक विवरण परीक्षण गरेर केन्द्रले मतदाता नामावलीको अन्तिम टुंगो लगाउने निर्वाचन कार्यालयका सूचना अधिकारी पन्तले बताए ।
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९ ११:४६