काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी दर्ता मतदानभन्दा ३९ दिनअघि नै हुने भए पनि प्रचारको समय घटाइने जानकारी दिए।
‘उम्मेदवारी मनोनयन दर्ता भए पनि बाँकी २४ दिनसम्म के–के गर्न पाइने हो भन्ने पनि आयोगले नै भन्नेछ,’ थपलियाले भने,‘यो अवधिमा प्रचार(प्रसार गर्न भने पाइने छैन। अहिलेको कानुनमा टेकेर हामी निर्देशिका जारी गर्छौं।’
आयोगले यसपालि चुनाव प्रचारको समय बढाएको भन्दै आलोचना भएको थियो। आयोगले २०७४ को चुनावमा ३० दिन प्रचार गर्न समय दिइएकोमा यसपालि बढाएर ३९ दिन पुर्याएको थियो।
प्रचारप्रसारमा लामो समय दिँदा निर्वाचनको मात्र होइन, उम्मेदवारहरूको खर्च पनि बढ्ने, प्रचारप्रसार अवधिभर राज्यका अंगहरू शिथिल हुने र विकास निर्माणदेखि जनताका काम सुस्त हुने भएकाले यति धेरै प्रचारका लागि समय नचाहिने भन्दै आलोचना भएको हो।
आयोगले भने मतपत्र छपाईका लागि समय धेरै लाग्ने भएकाले प्रचार प्रसारको समय धेरै छुट्याउनु परेको बताएको थियो।
स्थानीय तह निर्वाचनमा हामीले प्रचारप्रसारका लागि १५ दिनजति मात्र समय दियौं। त्यति बेला २ करोड मतपत्र छापेर पुगेको थियो। यसपटक संघ र प्रदेशका लागि ८ करोड मतपत्र छाप्नुपर्छ, सेतोपाटीसँग कुरा गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।