कास्की- पोखरा महानगरपालिकाले गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत सांस्कृतिक पर्व ट्होटेंका अवसरमा यही साउन ३१ गते शैक्षिक संस्थामा स्थानीय बिदा दिएको छ ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज सूचना जारी गरी महानगरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरीमा बिदा दिइएको जनाएको हाे ।
वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैँले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी सबै शैक्षिक संस्थालाई बिदा दिन भनिएको महानगर शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।
गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलबार र चैत्र महिनाको अन्तिम मङ्गलबार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटें पर्व मनाउने गरेका छन् ।
ट्होटें पर्व मनाउनाले रोग, ब्यधा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुखशान्ति प्राप्त हुने जनविश्वास छ । यो पर्वमा गुरुङ समुदायका मानिसले विभिन्न हातहतियार, बाजाहरू डम्फु, झ्याली, चोपडी, सुलाची, चिम्टालगायत सामग्रीहरू प्रदर्शन गरी झाँकी निकाली धूप बालेर समाजमा रहेको भूतलाई धपाउने गर्दछन् ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ १९:५८