काठमाडाैं - सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ। सोमबार अपरान्ह ४ बजे बालुवाटारमा कार्यदल बैठक बस्ने सदस्य सचिव केशव जोशीले बताएका छन् ।
यस कार्यदल संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला रहेका छन् भने ५ दलीय गठबन्धनबाट दुई-दुई जना सदस्य छन्। गत साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन गरेर जाने औपचारिक सहमति गर्दै सिट बाँडफाँट गर्न कार्यदल बनाएका थिए।
उक्त कार्यदलले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गरी स्थानीय चुनाव, संसदमा अहिले दलहरूको प्रतिनिधित्वको अवस्था, २०७४ को चुनावमा दलहरूले ल्याएका मतलगायत आधारमा सिट बाँडफाँट गर्ने तयारी छ।
दलहरूले औपचारिक रूपमा सिट दाबी गरिसकेका छैनन्। सम्मानजनक ढंगले सिट बाँडफाँट गर्न आग्रह सत्ता गठबन्धनले गरिरहेका छन्।कार्यदल बैठकमा सत्ता गठबन्धनका शीर्ष नेतालाई नहराउने गरी सिट बाँडफाँट मिलाउनेबारे पनि छलफल भएको थियो।
आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले पनि कार्यदललाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै भदौ पहिलो साताभित्र सिट बाँडफाँट टुंग्याउने गरी काम गर्न कार्यदललाई आग्रह गरेका छन।
File Photo
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९ ०८:२२