काठमाडौं– नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, सवारीसाधनको संख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् ।
प्रहरीमा रहेको अभिलेख विश्लेषण गर्दा पनि दुर्घटना र मृत्यु तथा घाइतेको ग्राफ बढ्दै गएको देखिन्छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा सवारी दुर्घटना संख्या झण्डै तेब्बरले बढेको हो ।
दुर्घटनाबाट मानवीय क्षति (मानिसको मृत्यु) पनि निक्कै बढेको पाइएको छ । दश वर्षअघि आव २०६८/६९० को तथ्यांकमा कुल ८ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार २ सय ८७ सवारी साधन परेका थिए ।
दुर्घटनामा १ हजार ८ सय ३७ को मृत्यु र ४ हजार १९ जना गम्भिर घाइते भएका थिए । ठिक त्यसको १० वर्षपछि आर्थिक वर्ष २०७८/७९ को अभिलेखानुसार सवारी दुर्घटना ह्वात्तै बढेर २४ हजार पाँच सय ३८ पुग्यो ।
उक्त वर्ष ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटना हुँदा दुई हजार आठ सय ८३ जनाको मृत्यु भयो भने सात हजार दुई सय ८२ यात्रु गम्भिर घाइते भएका छन् । दश वर्ष अघिको एक वर्ष र १० वर्षपछिको एक वर्षको तथ्यांक हेर्दा दुर्घटना संख्या १६ हजार चार सय ४६ ले बढ्यो भने मानवीय क्षति एक हजार ४६ ले बढी देखियो ।
ती दुर्घटनामा संलग्न रहेका सवारी साधान हेर्दा झण्डै आधा मोटरसाइकल परेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ का कुल ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटना हुँदा मोटरसाइकल मात्रै १९ हजार ९ सय ७४ परेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ ।
त्यसपछि दोस्रोमा जीपरकार ८ हजार ९ सय ७५, त्यसपछि बस २ हजार ७ सय ८६ र चौथोमा ट्रकरट्यांकर २ हजार चार सय ७६ दुर्घटना भएको अभिलेख छ । दुर्घटनामा परेका सवारी साधनमध्ये आधा मोटरसाइकल छन् ।
यातायातका साधनमा सबैभन्दा बढी जोखिम मोटरसाइकल र त्यसपछि जिपरकार रहेको विवरणले देखाएको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह प्रहरीको दुर्घटना न्यूनिकरण अभियानका बीच नै दुर्घटना बढ्दो क्रममा रहेको बताउछन् ।
प्रहरी प्रधान कार्यालयले हालै गरेको तीन महिनाको तुलनात्मक अध्ययनले झन् बढी दुर्घटना बढेको देखाएको छ । गत वर्ष र अहिलेको वैशाख, जेठ असार तीन महिनाको तुलना मा यसवर्ष सोही अवधिमा ६३.४२ प्रतिशतले दुर्घटना बढेको छ भने मानिसको मृत्यु ३१.५९ प्रतिशतले वृद्धि भएको छ ।
उक्त तथ्यांकले सवारी दुर्घटनाको स्थिति भयावह हुँदै गएको प्रष्ट हुन्छ । प्राप्त विवरणमा २०७२ सालदेखि भने एक्कासी सवारी दुर्घटना र मानवीय क्षतिमा वृद्धि भएको तथ्याङकले देखाउँछ ।
२०७५ सम्म सवारी दुर्घटना संख्या ११ हजार नाघेको थिएन । त्यसपछि भने दुर्घटना ह्वात्तै बढेको छ । आव २०७६र७७ मा तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा पाँच हजार बढी दुर्घटना भएका छन् ।
त्यसपछि हरेक आर्थिक वर्ष पाँच हजार कै हाराहारीमा दुर्घटना संख्या वृद्धि भएर दश वर्षको अन्तरालमा तीन गुणाले बढेको पाइएको हो । यातायात विज्ञ आशिष गजुरेल नेपालका यातायात विश्वसनीय, आरामदायी र सुरक्षित नभएको बताउछन् ।
‘सार्वजनिक सवारीमा यात्रु कोचाकोच गरेर राखिएको हुन्छ, कमजोर मेसिनरीको प्रयोग हुन्छ, राज्यको योगदान पनि कमजोर छ, नीजि क्षेत्रले चाहेका बेला निकाल्ने र थन्याउन सक्ने अवस्था छ, अनुगमनको संयन्त्र छैन’, गजुरेलले भने, ‘त्यसकारण पनि नेपालको यातायात क्षेत्र सुरक्षाका दृष्टिले कमजोर छ ।’
उनका अनुसार नेपालमा सवारी साधनको संख्या धेरै छ । उनले भने, ‘सडकको क्षेत्र साँघुरो छ, त्यसले जाम र दुर्घटना पनि बढाउने गरेको छ, फुटपाथ राम्रो छैन, ज्येष्ठ नागरिक, बालिबालिका, अपाङ्गता भएका व्यक्तिमैत्री सडक पनि छैनन् ।’
सडक पुर्वाधार, सवारी साधनको अवस्था, कानुन र त्यसको कार्यान्वयन, सडक प्रयोगकर्ताको अनुशासन, तत्काल उद्धार र राहतको अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्ने तर नेपालको यातायात क्षेत्र त्यस्तो नहुँदा सुधार गरे मात्रै सुरक्षित सडक बन्न सक्ने उनको भनाइ छ ।
उनले नेपालको राजमार्ग शहरी क्षेत्रबाट लगिनु नै गलत भएको बताए । त्यसलाई शहरी सडक बनाएर राजमार्ग शहरभन्दा बाहिरबाट लैजानुपर्नेमा उनको भनाइ छ ।
ग्रामिण क्षेत्रमा डोजर इन्जिनियरिङ मात्रै रहेकाले जोखिम बढी छ । सडकमा रेलिङ मात्रै राम्ररी व्यवस्थापन गर्न सकिए धेरै दुर्घटना रोक्न सकिने गजुरेले जानकारी दिए ।