राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहले छरएिर रहेका स–साना टुक्रामा बसेका वाइसे चेबिसे राज्यहरूलाई एउटै मालामा गाँस्ने काम गरेका थिए । उनको दशकौँको युद्ध र अथक प्रयासबाट नेपाललाई एकीकरण गरेका हुन् । जुन समय र परिस्थितिमा भारतमा अंग्र्रेज र मुगलहरूको साम्राज्यहरूको शासन थियो । त्यस समयमा अंग्रेजहरू भारतमा स्थापित हुँदै आएको अवस्था र दक्षिण भारतबाट नेपालमा हुन सक्ने सम्भावित आक्रमण र नेपालको अस्तित्व नै विलय हुन सक्ने खतराका कारण समग्र रूपमा तत्कालिन स–साना राज्यहरूलाई एकीकरण गरेका थिए ।
श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहले गोर्खा राज्यको मात्र विस्तार गरेका थिएनन् । उनले अंग्रजी साम्राज्यवादको विरुद्धमा मुख्यतयः समग्र राज्यको अस्तित्व र हिन्दू धर्मको रक्षाका लागि कवचको रूपमा गोर्खा राज्यलाई अगाडि सारेका थिए किनभने नेपालको समग्र स–साना राज्यहरू हिन्दू धर्मका अनुयायीहरू थिए । दक्षिण भारतबाट मुगलहरूले मुस्लिम धर्म र अंग्रेजहरूको क्रिस्चियन धर्मको प्रभावका कारण धार्मिक रूपमा राज्यहरू पनि विस्तारित हुँदै आएको थियो । नेपालको आन्तरिक बाइसे चौबिसे राज्यहरूमा एक अर्काको वैमनश्यता रहेको कारण विधर्मीहरूले सहज रूपमा नेपाललाई आङ्खनो पञ्जामा लिन सक्ने अवस्था थियो । त्यसबेला उनले समग्र नेपालको एकीकरण गरी गोर्खा राज्यमा समाहित गर्दै विशाल नेपालको निर्माण गर्नु नै राजनीतिक र धार्मिक दृष्टिकोणका साथ महत्वपूर्ण उद्देश्य राखेका थिए । यस कुरालाई दिव्य उपदेशमा बक्स भएको नेपाल असली हिन्दूस्थान हो । आफ्नो कुल धर्म नछोड्नु भन्ने तथ्यले समेत स्पष्ट गर्दछ ।
१७९९ मा गोर्खाका राजा भएका श्री ५ पृथ्वीनारायण शाहले नेपाली सेनाको स्थापना गरे । उनले राज्यमा सेनालाई राम्रो तालिम र हतियारको समेत बन्दोबस्ती गरेका थिए । त्यसबेला उनले राज्यमा देशको अवस्था र उद्देश्य अनुरूप आधुनिक सैन्य शक्तिसहितको नेपाल एकीकरणको दूरदर्शिता र अभियानलाई सफलता गर्नका लागि त्यसबेला नेपाली सेनामा हतियार बनाउने मुसलमानहरूलाई समेत सेनामा आवद्ध गरेका थिए । विभिन्न जातजाति, बाहुन, खस (क्षेत्री), गुरुङ, मगरसहितका विभिन्न टुकडीहरू निर्माण गरेर राजा स्वयं पनि युद्धमा हिँडेका थिए । त्यसबेलाको सैनिक मुख्य नेतृत्व स्वयं राजा पृथ्वीनारायण शाहले गर्दै विभिन्न प्रतिकूल अवस्थामा आफैँ युद्धमा अग्रसर रहेका थिए ।
उनले कतिपय समय र परिस्थितिमा युद्ध मात्र नभई मैत्रिक सन्धि र सम्झौताहरू गर्दै नेपाल एकीकरणमा आङ्खनो कूटनीतिक दूरदर्शीतासमेत प्रस्तुत गरेका छन् । त्यसबेलाको परारष्ट्र नीतिमा देशको सम्बन्ध भनेको देशको सार्वभौमसत्ताको रक्षा र चुनौतिको विषयलाई समीक्षा गरेर कूटनीति सम्बन्ध विस्तारसमेत गर्दै अघि बढेका थिए । जुन समय र परिवेशसँगै मित्रता र पारिवारिक सम्बन्धसमेत जोडेर एकीकरणलाई अगाडि बढाएका थिए । मकवानपुरसँग वैवाहिक सम्बन्ध, भक्तपुरका युवराज वीरनरसिंह मल्लसँग मितको साइनोलगायत पाल्पा र कास्कीसँग मित्रता कायम गर्दै एकीकरण सफल गर्नका लागि साम, दाम, दण्ड र भे को नीति अवलम्बन गरेका थिए । विभिन्न युद्ध र कूटनीतिक सम्बन्धमा उनले लमजुङ राज्यलाई आफूभन्दा पनि शक्तिशाली राज्यको रूपमा चित्रण गरेका थिए । अन्ततः गोर्खाभन्दा सम्पन्न लमजुङ राज्यलाई षड्यन्त्रबाट एक्लो बनाएर आफ्नो अधिनमा पारेरै छाडे ।
उनले आर्थिक नीतिमा प्रजा मोटा भए दरबार बलियो रहन्छ भन्ने कुरालाई दिव्य उपदेशमार्फत जनताको सुख र समृद्धि नै दरबारको समृद्धि हो भन्ने चाहना राखेका थिए । यसैगरी घुस लिने र दिने दुवै राष्ट्रको शत्रु हुन् भनेर प्रशासनलाई सुशासनमा लगेको देखिन्छ । धार्मिक पक्षमा राजा पृथ्वीनारायण शाहले उपत्यका विजयपश्चात काठमाडौं, भक्तपुर, ललितपुर कीर्तिपुरका धार्मिक, सांस्कृतिक परम्पराहरूलाई निरन्तर रूपमा जात्रा पर्वहरूलाई आत्मसात गरेका थिए । मेरा साना दुःखले आज्र्याको मुलुक होइन, यो चार जात छत्तिस वर्णको साझा फूलबारी हो सबैलाई चेतना भया । सबै मिली यसको सम्भार गर्नु भन्ने उनको उपदेश आज पनि समय सान्दर्भिक रहेको छ ।
उनको दिव्य उपदेशमा राजाले ठूलो निञासाफ हेर्नू, अन्याय मुलुकमा हुन नदिनू । निञानिसाफ बिगार्ने भन्याको घुस लिने र घुस खाने हुन्, यी दुवैको त जिउ हरी लिए पनि पाप छैन । यी राजाका महाशत्रु हुन् भनेका छन् । आजको परिस्थितिमा नेपालको न्यायालयभित्र न्याय, इन्साफ भन्ने कुराहरू दलगत राजनीतिक शक्तिको दुश्चक्रमा फसेको देखिन्छ । चरम भ्रष्टचारको मुद्दाहरू राजनीतिक शक्तिको आडमा एउटै अदालतका फैसालाहरूमा वारम्बार बाझिने गरेका छन् र दोषी पक्षलाई न्यायालयबाट फैसलाद्वारा चोख्याउने काम गरिएको छ वा भनौँ अप्रत्यक्ष रूपबाट सत्ता र शक्तिको आडमा राजनीतिक आग्रहबाट गरिएका यस्ता फैसलाहरूले पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई मात्र होइन, समग्र नेपाली जनतालाई उपहाससमेत गरिरहेको देखिन्छ ।
यसैगरी, नेपालको राजनीतिमा देखा परेका विसंगतिमा देशको राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाहलाई तथानाम शब्द प्रयोग गर्ने दुष्प्रयासहरू भइरहेका छन् । नेपाल राष्ट्रलाई अधिनस्त र देश विघटन गराउन खोज्ने तत्वहरूले नेपालको एकीकरणलाई नकारात्मक पक्षबाट प्रचार गर्न खोजिएको देखिन्छ । यो साह्रै दुर्भाग्यपूर्ण परिस्थिति हो । त्यसबेला नेपाललाई विभिन्न वहानाबाट अधिनस्त वा समाहित गर्न खोज्ने अंग्रेजहरूले नेपालको भूमिमा कब्जा जमाउन सकेनन् तर वर्तमान परिस्थितिमा नेपाललाई अर्धऔपनिवेशिक राष्ट्र बनाएर नेपाललाई नियन्त्रण गर्ने र शासन व्यवस्थालाई उनीहरूको स्वार्थमा चलाउनका लागि विभिन्न खालका राष्ट्रिय हितविपरीत प्रस्तावहरू सरकारमार्फत ल्याएको देखिन्छ । नेपालको राजतन्त्र अफाप र बाधक भन्ने गणतन्त्रवादीेहरूले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई समेत उपेक्षा गर्दै नेपालको राष्ट्रिय विभूतिको उचित सम्मान गर्न सकिरहेका छैनन् ।
आजको राजनीतिक परिवेशमा नेपालको सिमानाहरू मिचिएका छन् । देशका नेताहरूले कूटनीतिबाट समस्या समाधान निकाल्ने तर्क राख्दै आए तापनि युग बितिसकेको छ तर नेपालको कालापानी, लिपुलेक, सुस्ताजस्ता धेरै क्षेत्र भूमिहरू अहिलेसम्म पनि मिचिएकै अवस्थामा छन् । यसैगरी नेपालमा जातजातिको नाममा विभाजन र विवेद्कारी मुद्दाहरू सतहमा आएको छ । धर्म र संस्कृति समाप्त पारिँदै छन् । नेपाल असली हिन्दूस्थान हो भन्ने दिव्य उपदेशलाई गणतन्त्रपश्चात धर्मनिरपेक्षमा बदलेर क्रिस्चियन धर्मको बाहुल्यता बढाउँदै देशमा धर्ममाथि आक्रमण र धार्मिक वितण्डताका लागि धर्म प्रचारहरू भइरहेका छन् । श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगाको तरुलको संज्ञा दिएका थिए तर यो देशलाई सन्तुलन परराष्ट्र नीतिलाई अघि बढाउनु पर्नेमा उनको दिव्य उपदेशअनुसार दक्षिण साह्रै चतुर छ, सावधान रहनु भनेका उपदेशलाई बिर्सेर दक्षिणको भरमा नेपालको राजनीतिक षड्यन्त्रहरू सञ्चालन भइरहेको देखिन्छ । नेपालको असंलग्न परराष्ट्र नीतिलाई संलग्नतातर्फ लतार्दै लैजाने अवस्थामा विदेशी षड्यन्त्रहरू भइरहेका छन् ।
वर्तमान परिवेशमा नेपाललाई राष्ट्रियता र सार्वभौम सत्ताको रक्षाका लागि राष्ट्रिय एकताको भावना निर्माण गर्नु जरुरी देखिन्छ । अतः राष्ट्रिय एकता दिवस मनाउँदा जनतामा एकताको भावना बलियो हुन जाने र राष्ट्रियता मजबुत भई देशको सार्वभौसत्ता र अखण्ड राष्ट्रको जग बलियो हुन जाने तथ्य सबैलाई थाहा भएकै कुरा हो । तर, नेपालमा राजनीतिक परिवर्तन सँगसँगै विगतको इतिहासलाई भुल्याउने गरी नेपालको राष्ट्रिय एकता दिवसलाई उपेक्षा गर्ने कोसिस भइरहेको छ । यस प्रकारको कार्यले केही नेताहरूको आन्तरिक मनभित्र नै कतै नेपाललाई कमजोर बनाउने खेलमा लागेका त छैनन् ? यो शंकाको विषय उब्जेको पनि छ । यसका लागि नेताहरू नै विदेशी गोटीको रूपमा षड्यन्त्ररूपी भूमिका खेलेका त छैनन ? भन्ने शंकाहरू पनि प्रशस्त उब्जने ठाउँहरू पनि देखिन्छन् । उदाहरणका लागि नेपाललाई आन्तरिक रूपमा कमजोर बनाउन इन्डो प्यासिफिक रणनीतिको अंगको रूपमा रहेको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसिसी) जस्ता प्रस्तावहरू आउनु र त्यसता देशलाई अधिनस्थ गर्न सक्ने गरी आएको प्रस्तावमा सम्झौता गर्ने, जनतामा विभाजन र विभेदको मनस्थिति उत्पन्न गराउन खोज्ने तत्वहरू पैसा र शक्तिको आडमा नेपालको राज्य प्रणालीलाई कुनै बाहिरी शक्तिले चलाउन खोजेको देखिन्छ ।
यस्तो अवस्थामा समग्र राष्ट्रवादी नेपाली जनताले श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदान र दिव्य उपदेशलाई स्मरण गर्नु पर्ने भएको छ । धर्म, जातजातिभन्दा माथि उठेर सबैलाई एकताको सूत्रमा बाँधी विश्वमा नेपालीको पहिचानलाई आत्मसात् गर्नु पर्ने भएको छ । नेपाल कसैको पराधीन नभएको देश, स्वतन्त्र राष्ट्रको नागरिक भनेर गर्व गर्न आज नेपालीले पाएका छन् । नेपालको राष्ट्रलाई सार्वभौमसत्ता र राष्ट्रियताको एकताको सूत्रमा बाँध्ने श्री ५ वडामहाराजाधिराज सरकारको योगदान अतुलनीय छ । तसर्थ नेपालमा राष्ट्रिय एकताको रूपमा विविधतामा एकताको सूत्र बाँध्ने राजा पृथ्वीनारयण शाहको योगदानलाई नेपालीले भुल्न हुँदैन । श्री ५ वडामहाराजा पृथ्वी नारायणशाह आधुनिक नेपालका राष्ट्र निर्माता हुन् । श्री ५ वडामहाराजा पृथ्वीनारायणशाहको पसु २७ गते उनको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल र नेपाली जनताले महोत्सवको रूपमा मनाउँदै आएका छन् । समग्र नेपाल र नेपाली जनताको मन मष्तिष्कमा उनको उच्च सम्मान सदैव रहिरहने छ । सबै नेपाली एक हुनु आजको आवश्यकता भइसकेको छ । सबैको जय होस्, श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाह अमर रहुन् ।
(लेखक राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्द्रीय सदस्य हुुनुहुन्छ ।)