काठमाडौं- नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका प्रमुख सचेतक विशाल भट्टराईले अध्यादेश र विधेयकलाई उही कोणबाट हेर्ने आफैँमा मिल्ने विषय नभएको बताए । राष्ट्रपतिले सङ्घीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक पुनः विचारका लागि फिर्ता पठाएपछि विभिन्न टिका टिप्पणी भइरहेकामा उनले गुनासो गरे । एमालेले नागरिकतामा राखिएको केही प्रावधान देशको हित विपरित रहेको भन्दै त्यसको उचित निरुपण गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै, सांसद लक्ष्मी परियारले दलित समुदायलाई गलत र अपमानजनक नाम राखेर जारी गरिएको नागरिकता नसच्याइएको भन्दै सदनको ध्यानाकर्षण गराए । दैलेखका एक नागरिकले नागरिकता सच्याउनका लागि आवेदन दिएको भएपनि त्यसको सुनुवाई नभएको र सम्बन्धित अधिकारीले उल्टै अपमान गरेकामा उनले आपति जनाए ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ १३:२३