काठमाडौं-हलिउडका चर्चित अभिनेता जोनी डेप २५ वर्षपछि निर्देशकको कुर्सीमा फर्किंदैछन् ।
उनले इटालीका कलाकार अमेदियो मोदिग्लानीको जीवनमाथि आधारित फिल्म निर्देशन गर्ने भएका छन् । फिल्मको शीर्षक ‘मोदिग्लानी’ राखिएको छ ।
साथै, जोनीले भेट्रान एक्टर अल पचिनोसँग मिलेर फिल्म समेत निर्माण गर्दैछन् । यसका लागि कलाकारबारे केही टुंगो भने लागेको छैन । जोनी स्वयंले अभिनय गर्छन् वा गर्दैनन् भन्नेबारे पनि टुंगो छैन ।
अमेदियो मोदिग्लानी इटालीका चित्रकार हुन् जो मरणोपरान्त चर्चित रहे । उनको शैलीले जीवनभर प्रसिद्धि पाएन र उनले आफूलाई आलोचनात्मक र व्यावसायिक रुपमा असफल ठान्थे । सन् १९२० मा मृत्यु भएपछि युरोपमा उनका सिर्जनाको व्यापक खोजी भयो ।
यो फिल्मले २० औं शताब्दीको सुरुवातमा पेरिसमा बस्ने प्रसिद्ध चित्रकारको जीवनकथालाई पुनः वर्णन गर्नेछ । ‘मोदिग्लानीको गाथालाई ठूलो पर्दामा ल्याउन लाग्दा म आफूलाई सम्मानित र गर्विलो महसुस गर्छु,’ फिल्ममा सहभागिताबारे जोनीले भने ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ १३:५३