काठमाडाैं - सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच सेवा दिने सम्बन्धमा सम्झौता गरेका छन् ।
सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सम्झौता गरेका हुन् ।
बैंकका ग्राहकवर्गहरुले मोको डिजिटल वालेटमार्फत नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रुपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत तथा खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नुहुनेछ ।
यसका अतिरिक्त, ग्राहकवर्गहरुले मोकोको एप मार्फत VISA, UPI, Alipay, NepalPay, Khalti, IMEpay, Prabhupay, QPay स्क्यान गरी वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी सजिलै गर्न सक्नुहुनेछ ।
ग्राहकवर्गहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरे पश्चात् भौतिक कार्ड साथमा नभए पनि मोको एप मार्फत विद्युतीय भुक्तानी गर्न सक्नुहुनेछ । यसले गर्दा ग्राहकवर्गहरुको विद्युतीय भुक्तानी सेवा अझ छिटो र सहज हुने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९ ०८:५५