काठमाडौं – आयोजक न्यु डायमण्ड एकेडेमी र विभागीय टिम एपीएफ तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आइतबार भिड्ने भएका छन् ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टिम आर्मीलाई हराउँदै न्यु डामण्डले एपीएफसँगको उपाधि भिडन्त पक्का गरेको हो । सेमिफाईनलको खेलमा न्युडायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमण्डले आर्मीलाई २५–१७, २५–१६ र २५–११ को सेटमा पराजित गरेको हो । घरेलु मैदानमा न्यु डायमण्डले सहज जित निकाल्दै फाईनल प्रवेश गर्न सफल भयो ।
शनिबारनै भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा हराएको थियो । एपीएफले पुलिसलाई २५–१४, २५–१८ र २५–१७ को सेटमा हराएको थियो । प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रूपैयाँ, दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रूपैयाँ प्राप्त गर्नेछ ।
तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रूपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रूपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रूपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रूपैयाँ पाउनेछन् ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६ ०८:३८