गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा केही रोचक र आशालाग्दा दृश्य देखिए । तीमध्ये देशको प्रमुख सहर, संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहको जित र कम्युनिस्ट (खासगरी नेकपा एमाले)को लालकिल्लाका रूपमा चिनिएको पूर्वको पुरानो सहर धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित ।
बालेन चुनावअघि नै चर्चामा थिए । तामझामसहित प्रचारप्रसारमा दौडिन्थे । मूलधारका सञ्चारमाध्यमले उनलाई फलो गरिरहेका हुन्थे । चर्चित सामाजिक सञ्जाल ग्रुपहरूले पनि बालेनको पक्ष्ँमा क्याम्पियन गरिरहे । तर, त्यसको ठीक विपरीत हर्क भने एक्लै चुनावी अभियानमा दौडिरहे ।
मानिसका आगनमा गएर, चोकमा, चौतारामा गएर भाषण गरे । प्रचार सामग्री बोकिदिने कोही थिएन । मानिसहरू उनका भाषण सुन्न आएनन् । भीडभाड गरेनन् । बालेनको जस्तो तामझाम देखिएन । सञ्चारमाध्यमले त चुनावी परिणामा लिड गर्दा मात्रै ख्याल गरे । तर, धराने जनताले विद्रोह गरे । र, हर्क मेयरको कुर्सीमा पुग्न पाए ।
स्वाभाविकरूपमा दलीय दलदलबाट दिक्क भएका मतदाताले स्वतन्त्र उम्मेदवारलाई जिताएर एउटा राजनीतिक सन्देश त दिए नै, स“गै बालेन र हर्कजस्ता युवाबाट केही अपेक्षा पनि गरे । जुन स्वाभाविक हो । तर, निर्वाचित भएको तीन महिना बितिसक्दा पनि उनीहरूले अपेक्षाकृत काम गर्न सकेका छैनन् । बरु सामाजिक सञ्जालको आत्मरतिमा रमाइरहेका छन् । संयोगले यी दुवैले स्थनीय निर्वाचनमा लौरो चुनाव चिह्न पाएका थिए ।
धरानका मेयर हर्क दिनमा दर्जनौं स्टेटस फेसबुकमा पोस्ट गर्छन् । सस्तो लोकप्रियताका काममा रमाइरहेका छन् । हर्कजति नभए पनि बालेनसमेत सामाजिक सञ्जालमा क्रियाप्रतिक्रिया दिइराख्छन् । अलि पहिले लेखेको ‘काम गर्न देऊ, डिस्टर्ब नगर’वाला स्टेटस मात्र होइन हालै हर्कको स्टेटसमा गरेको कमेन्टले पनि बालेन ‘अपरिपक्व’ नै देखिन्छन् । फेसबुकका अन्य ग्रुपहरूमा उनले गर्ने गरेका कमेन्टले पनि बालेनको ‘हलुकापन’ देखिन्छ ।
अहिले त दुवैबीच सामाजिक सञ्जालको शीतयुद्ध चलिरहेको छ । हर्कले एकपछि अर्को गर्दै बालेनलक्षित टिप्पणी गरिरहेका छन् । हर्कको तुलनामा बालेन यसमा केही संयम देखिएका छन् ।संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ । स्थानीय सरकार प्रमुखका रूपमा मेयरका धेरै काम, कर्तव्य र अधिकार छन् । नीति निर्माणदेखि दीर्घकालीन योजना र रणनीति बनाएर अघि बढ्नुपर्नेछ ।
खास भन्दा आफ्नो क्षेत्रको विकासका लागि गर्न सक्ने पहिलो व्यक्ति नै स्थानीय सरकार प्रमुख हो । दलीय विकृतिबाट वाक्क भएका नागरिकले स्वतन्त्र उम्मेदवारबाट सुशासन र समृद्धिको अपेक्षा गरेकै छन् । तर, कामलाई भन्दा सस्तो लोकप्रियतालाई ध्यान दिने, सामाजिक सञ्जालमा विवादस्पद टिप्पणी गर्दै जाने हो भने जनताको विश्वास धर्मराउन समय लाग्ने छैन । उनीहरू जनताको नजरबाट गिर्नेछन् ।
जसरी उनीहरूलाई उनीहरूको निर्वाचन क्षेत्रका मात्र नभई देशभरकै नागरिकबाट सहानुभूति र अपेक्षा छ, त्यो कम हु“दै जाने जोखिम छ । जब उनीहरू पदीय जिम्मेवारीअनुसारको काम गर्दैनन्, अनावश्यक बरालिन थाल्छन्, पक्कै पनि त्यसको नजिता राम्रो हुने कुरै छैन ।स्थानीय सरकार प्रमुखका हिसाबले बालेन र हर्कलाई संविधानले बराबर जिम्मेवारी दिए पनि भूगोल, अवस्थिति, समस्या, आवश्यकता हिसाबमा काठमाडौं र धरानबीच भिन्नता छ ।
त्यसकारण एकले अर्कोको उछितो काढ्नु शोभनीय हुँदै होइन । हो, निर्वाचित भएको तीन महिना बितिसक्दा उनीहरूले अपेक्षाकृत काम गर्न सकेका छैनन् तर, लौ बर्बाद भयो भन्ने पनि भइसकेको छैन । किनकि, काम गर्नलाई समय छ । र, यो बीचको समयमा पनि उनीहरूले केही न केही गरिरहेकै होलान् भन्ने विश्वास गरौं ।
सबैभन्दा मुख्य कुरा मान्छेको जिम्मेवारी हो । व्यक्तिगत स्वभावका हिसाबले मान्छेको प्रकृति सबैको आ–आफ्नै हुन्छ । कार्यशैली आ–आफ्नै हुन्छ । तर, मेरो पदीय दायित्व र जिम्मेवारी के हो, सामाजिक दायित्व के हो, गरिमा के हो भन्ने कुरालाई ख्याल गरिएन भने सार्वजनिक पदधारण गरेका कुनै पनि व्यक्तिको बहिर्गमन एकदम नमीठो र अकल्पनीय हुन्छ । जुन कुरा धरान र काठमाडौंका मेयर मात्र होइन सबैले समयमै बुझ्नुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९ १४:३४